Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रमुख जिल्ला अधिकारीको टोलीद्धारा त्रिवेणीमा अनुगमन 

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त नेतृत्वको टोलीले जिल्लाको त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा अनुगमन गरेको छ । टोलीले निर्माणाधिन त्रिवेणी गाउँपालिकाको प्रशासकीय भवन, हाल सेवा प्रवाह भई रहेको भवन, राप्ती राजमार्ग अन्तर्गतको झुल्नेटा–खौला बिचको सडक लगायतको अनुगमन गरेको हो । 

साथै नागरिकता सम्बन्धि आउने समस्या, वडाबाट नागरिकता सिफारिस गर्दा ध्यान दिनुपर्ने कुराहरु, सार्वजनिक अपराध, घटना दर्ता गर्ने आधारहरु, बिपद पूर्व तयारी लगायतका विषयमा गाउँकार्यपालिकाको कार्यालयमा छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । 

विकास निर्माण सहित सेवा प्रवाहका विषयमा केही समय देखि प्रमुख जिल्ला अधिकारी पन्त अनुगमनमा निस्किरहनुभएको छ । निर्माणाधिन विकासका कामलाई तोकिएको समयमै सक्न र गुणस्तरीय काम गर्न निर्देशन दिइरहेको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । 

साथै सेवा प्रवाहको अवस्थाको बारेमा जानकारी लिदै सेवा प्रवाहमा देखिएका समस्यालाई हल गर्न तथा विशेषगरी नागरिकताका सम्बन्धमा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुसंग छलफल गरिरहेको उहाँको भनाई छ । आजको छलफलमा त्रिवेणीका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, १० वटै वडाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । 

जिल्लाबाट प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त सहित प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख गोविन्द केसी लगायतको टोली गएको थियो । अनुगमणका लागि उक्त टोलीमा गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले लगायतको टोली जोडिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update