रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिकाको खलंगा बजारका विभिन्न ठाउँमा जडान गरिएका सडक सोलार बत्ति बिग्रन थालेका छन् । जडान गरिएको ६ महिना नपुग्दै बत्ति बिग्रन थालेका हुन । मुसिकोट नगरपालिकाले रातको समयमा बजारलाई झिलिमिलि पार्न, बजारको सुन्दरता बढाउन तथा चोरी लगायतका घटना नियन्त्रण गर्ने उद्ेश्यले खलंगा बजारका विभिन्न ठाउँमा ४० वटा सडक सोलार बत्ति जडान गरेको थियो ।
उक्त बत्ति जडान गरिएको ६ महिना नपुग्दै बिग्रन थालेका हुन् । अहिले खलंगा बजारमा जडान गरिएका सबै बत्ति बल्दैनन् । केही समय सडक सोलार बत्तिका कारण झिलिमिलि देखिएको खलंगा बजार फेरी अध्यारो हुन थालेको छ । जडान गरिएको छोटो समयमै बत्ति बिग्रिएपछि कमसल खालको बत्ति राखिएको बजारवासीले आशंका गरेका छन् । मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले बजार क्षेत्रमा जडान गरिएका ३ वटा बत्ति बग्रिएको जानकारी आएको बताउनुभयो ।
जानकारी आउने बित्तिकै आफुले बत्ति जडान गर्ने जिम्मा पाएको कम्पनीलाई बोलाएर तत्काल मर्मत गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । निर्माण कम्पनीले केही दिनमै सडक बत्ति मर्मत गरेर बाल्ने जवाफ दिएको उहाँको भनाई छ । ‘जडान गरिएको ६ महिना भित्र बिग्रिएमा त्यसको जिम्मा निर्माण कम्पनीको हो, बत्ति बिग्रिएको जानकारी मलाई आउने बित्तिकै मैले निर्माण कम्पनीका संचालकलाई नै बोलाएर निर्देशन गरेको छु, एक दुई दिनमै मर्मत गर्छु भन्ने जवाफ आएको छ, उहाँले भन्नुभयो ।’
सडक बत्ति जडानको जिम्मा को बाल्ट इन्टरनेशनल प्रालिले लिएको थियो । मुसिकोट नगरपालिकाले पहिलो चरणमा ४० वटा बत्ति जडानका लागि ४९ लाख ४३ हजार बजेट विनियोजन गरेको थियो । तर ठेकेदार कम्पनीले ३० लाख २८ हजार ४ सय ५० रुपैयाँमा ठेक्का लिएको थियो ।
गत पुसबाट बत्ति जडानको काम सुरु भएको थियो । खलंगा बजारका तल्लो बजार, बराहटाकुरा, झोलुंगे पुल, कालिकास्थान देखि त्रिभुवन जनता मावि, राप्ती लोकमार्ग अन्तर्गत हुलाक मुनिबाट त्रिवेणी चोक लगायतका ठाउँमा सडक बत्ति जडान गरिएको छ ।