रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ सोेलावाङमा करेन्ट लागेर एक जना घाइते भएका छन् । स्थानीय रिमबहादुर खड्का घाईते हुनुभएको छ । करेन्ट लागेर उहाँका दुईवटा बोका मरेका छन् । आज विहान बाख्रा चराउन गएको बेला केन्द्रिय प्रशारण लाईनको पोलबाट लिक भएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर मरेका २ वटा बोकालाई छुटाउने क्रममा खड्कालाई पनि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । खड्काको बायाँ खुट्टामा करेन्ट लागि घाईते भएको अवस्थामा प्रहरी चौकी सोलावाङबाट डियुटीमा खटिएको प्रहरी टोलीले फेला पारेको थियो । त्यस लगतै प्रहरी चौकी सोलावाङबाट प्रहरी सहायक निरीक्षक ढालबहादुर मल्लको कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलीले उद्धार गरी खड्कालाई स्थानीय मेडिकलमा पुर्याएको थियो ।
खड्काको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते खड्काको बाँया खुट्टाबाट रगत बगेको, ढाडमा हल्का पोलेको र बोल्न सक्ने अवस्था रहेको छ । खड्कालाई सामान्य उपचार पछि थप उपचारका लागि एम्वुलेन्स मार्फत जिल्ला अस्पताल सल्ले ल्याइएको उहाँले बताउनुभयो ।