Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्नेको नीति, कार्यक्रमः एक वडा पाँच कृषि उत्पादन, निःशुल्क एम्बुलेन्स देखि दीर्घरोगीलाई निःशुल्क औषधि सम्म 
नीति, कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । स्थानीय तहले असार १० गते भित्रै नीति तथा कार्यक्रम र वजेट ल्याइसक्नु पर्छ । सोही अनुसार सिस्ने गाउँपालिकाले आज नीति तथा कार्यक्रम ल्याएको हो । 

गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, पशुपालन र उद्यम परियोजना सञ्चालन, गुणस्तरीय र सर्वसुलभ शिक्षा, प्रभावकारी सेवा प्रवाह, सुशासन तथा संस्थागत विकास, पूर्वाधार विकास, पर्यटन पूर्वाधार निर्माण, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, वन तथा वातावरण संरक्षण, घरघरमा खानेपानी, सडक स्तरोन्नति, विपन्न नागरिकहरुको आर्थिक विकास, सिस्नेवासीलाई सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था र सुखी, खुसी, समृद्ध र समुन्नत स्थानीय सरकार निर्माणलाई मुख्य कार्यक्रमका रुपमा अघि सारिएको छ । 

त्यस्तै “एक टोल एक उत्पादन”को नारा सहित एक वडा पाँच कृषि उत्पादन गर्ने नीति उच्च प्राथमिकताका साथ लागु गरिनुका साथै किसानको उत्पादनलाई बजारसम्म पुर्याउने कार्यक्रमलाई समेत प्राथमिकतामा राखिएको छ । भूमि बैंक अन्तर्गत कृषि क्षेत्रमा लगानी गर्ने, अर्गानिक र रैथाने वालीलाई संरक्षण गर्ने, कृषकसंग पालिका कार्यक्रम पनि लागु गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै विद्यार्थीसंग गाउँपालिका कार्यक्रम, गाउँपालिका छात्रवृत्ति कार्यक्रम, एक वडा एक व्यवस्थित माध्यमिक विद्यालयको नीति अबलम्बन गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै खेलाडीसंग गाउँपालिका कार्यक्रम, जनतासंग स्थानीय सरकार, जनतासंग अध्यक्ष/उपाध्यक्ष कार्यक्रम, संचारकर्मीसंग गाउँपालिका कार्यक्रम मार्फत पनि विभिन्न गतिविधि संचालन गरिने छ । 

गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा, दीर्घरोगीलाई निःशुल्क औषधि, विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविर, सडक विस्तार भन्दा सडक स्तरोन्नति तथा सुधारमा ध्यान केन्द्रित गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ । एक वडा एक पर्यटकीय स्थल निर्माण गर्ने, जिल्लामा रहेका पर्यटकीय स्थललाई विशेष प्राथामिकताको योजना वनाएर अघि बड्ने योजना बनाईएको छ । 

आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको पालिकाले असार १० गते आगामि आर्थिक वर्षको वजेट प्रस्तुत गर्ने छ । 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update