रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको त्रिवेणी चोकबाट डिग्रे जाँदै गरेको जिप दुर्घटना भएको छ । त्रिवेणी चोकबाट रावलबारा हुँदै डिग्रे जाने सडकमा रहेको भे १ च २७९६ नम्बरको जिप स्टार्ट गर्ने क्रममा त्रिवेणी चाेक देखि केही माथि उकालोमा ब्रेकले काम नगरी पछाडि सर्दा सडकबाट ६ मिटर तल अर्को सडकमा खसेको थियो ।
दुर्घटनामा परी १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार जिपमा १२ जना सवार थिए । चालक सहित २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
घाइते हुनेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ की १३ वर्षिया सरस्वती केसी, मुसिकोट ३ की ५५ वर्षिया लिला केसी, मुसिकोट १३ की ५० वर्षिया सुबि रोका, मुसिकोट ३ की १३ वर्षिया सुजता केसी, मुसिकोट १२ की करीना केसी र मुसिकोट १४ की दक्षिणा केसी रहेको खड्काले बताउनुभयो ।
त्यस्तै मुसिकोट १४ कि ८ वर्षिया बर्षा केसी, मुसिकोट १ की ३५ वर्षिया बिनिता केसी, दाङ शान्तिनगर ४ की २५ वर्षिया टीका ओली केसी र सोही ठाउँकी ३३ वर्षिया टीका केसी पनि घाइते भएको प्रहरी निरीक्षक खड्को भनाई छ । उहाँका अनुसार घाइते मध्य बर्षा केसीको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।