अत्यधिक रक्तश्राव भएकी रुकुम पूर्व पुथाउत्तरगङ्गा गाउँपालिका-५ हुकामकी ४० वर्षीया सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत उद्धार गरी थप उपचारका लागि बिहीबार दिउँसो सुर्खेत पठाइएको छ । गएराति रुकुमपूर्व अस्पताल रुकुमकोटमा छाँइ पुन सुत्केरी हुनु भएको थियो ।
सुत्केरी पछि पुनलाई रक्तस्राव भएको अस्पतालले जनाएको छ । रक्तस्राव नरोकिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा राष्ट्रपति महिला उत्थान (निःशुल्क हवाइ उद्धार सेवा) कार्यक्रम मार्फत हेलिकोप्टर झिकाएर सुत्केरी र शिशुलाई सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । शिशुको स्वास्थ्य अवस्थामा केही समस्या नरहेको बताइएको छ ।
बुधबार दिउँसो देखि उक्त महिलालाई सुत्केरी व्यथा लागेको थियो । सुत्केरी महिलाको परिवारको भनाइ उद्धृत गर्र्दै पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले भन्नुभयो “व्यथा लागे लगत्तै स्वास्थ्य चौकी हुकाम भर्ना गरिएको थियो ।” लामो समय देखि सुत्केरी महिलालाई रक्तनली समस्याको बिरामी रहेको हुनाले स्वास्थ्य चौकी हुकामले रुकुमपूर्व अस्पतालमा पठाइएको थियो । सुत्केरी पश्चात् रक्तस्राव भएपछि जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा हेलिकोप्टर मार्फत सुत्केरी र शिशुको उद्धार गरी थप उपचारको लागि सुर्खेत पठाइएको उपाध्यक्ष बुढाले बताउनुभयो ।