रुकुम पूर्वमा जेठ मसान्तसम्म लम्पि स्किन रोगबाट १७ सय ६० पशुचौपाया संक्रमित भएका छन् । एक महिना अघि देखि जिल्लामा देखा परेको यो रोगबाट १७ सय ५६ गाई र चार ओटा भैँसीमा संक्रमण देखिएको हो । संक्रमित पशुमा शरीरमा गिर्खा आउने, पाक्ने, रगत बग्ने, पिप जम्ने तथा १ सय ४ डिग्री भन्दा बढी ज्वरो आउने लक्षण देखिने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
सबै भन्दा बढी भूमे र सबै भन्दा कम सिस्ने गाउँपालिकाका पशुचौपायामा यो रोग देखिएको छ । भूमेमा सात सय ३३ र सिस्ने गाउँपालिकामा चार सय ८२ ओटा गाईमा संक्रमण देखिएको छ । भने पुथाउत्तरगंगा गाउँपालिकामा पाँच सय ४१ ओटा गाईमा संक्रमण देखिएको एकीकृत कृषि विकास कार्यालय रुकुम पूर्वका प्रमुख पिताम्बर बस्नेतले कखरालाई जानकारी दिनुभयो ।
उहाँले दिएको जानकारी अनुसार जिल्लामा अहिलेसम्म ४ ओटा भैँसीलाई संक्रमण देखिएको छ । त्यस्तै जिल्लामा यो रोगबाट एक सय २५ ओटा गाई र एउटा भैँसी मरेको छ । यो रोग लागेका पशुमा सबैभन्दा बढी दूध सुक्ने समस्या छ । यो रोगको निश्चित औषधि नभएकोले लक्षणको आधारमा उपचार गरिरहेको बस्नेतले बताउनुभयो ।