गरिबिको रेखामुनि रहेका रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका ६० परिवारलाई जस्ता पाताको छानामुनि ल्याइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत नगरका ६० परिवारलाई खर वा परालको छाना भएको घरबाट जस्ता पाताको छाना भएको घरमा वसोवासको व्यवस्था मिलाईदै छ । गरिबीको रेखामुनि रहेका, प्रकोपका कारण घरवारविहिन भएका घरपरिवारले सुरक्षित आवास आफैले निर्माण गर्न चाहेमा जस्तापाता र सहुलियत दरको काठ लगायतका सामग्रि खरिदका लागि सहयोग हुने नगरपालिकाले जनाएको छ ।
यसबाट गरिबीको रेखामुनि रहेका, पराल वा खरको छानो भएका घर परिवारलाई जस्ता पाताको छाना मुनि ल्याउने लक्ष राखिएको छ । यो कार्यक्रम अन्तरगत नगरका ६० परिवार छनौटमा परेको नगरपालिकाले जनाएको छ । नगपालिकाका अुनसार सुरक्षित नागरिक आवास समन्वय समितिले नगरका १४ मध्ये ७ वटा वडाका ६० परिवारलाई छनौट गरेको छ । यसमा अधिकांश दलित समुदायका घरपरिवार छन् । यसका अलावा गरिबीको रेखामुनी रहेका जनजाती र क्षेत्री समुदायका घर परिवार पनि छनौटमा परेका छन् । नगरपालिकाले यसका लागि सम्झौता गर्न आग्रह गरेको छ । एक सूचना जारी गर्दै चैत्र १४ गते भित्र सम्झौता गरिसक्न भनिएको छ ।