Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे गाउँपालिकामा एक वर्षमा ६९ जनालाई रोजगारी 
फाइल फाेटाे ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा एक वर्षको अवधिमा ६९ जनाले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ६९ घर परिवारलाई छनोट गरी रोजगारी दिइएको हो  । उक्त कार्यक्रममा चार सय ८८ जनाले फर्म भरेको भए पनि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई छनोट गरेर रोजगारी दिएको गाउँपालिकाले जानकारी दिएको छ । 

एक व्यक्तिले एक सय दिन बराबरको काम गरेका छन् । एक दिन काम गरे वापत प्रति व्यक्ति पाँच सय ७७ रुपैयाँ ज्याला पाएको रोजगार कार्यक्रम संयोजक बसन्ती सुबेदीले कखरालाई जानकारी दिनुभयो । उक्त कार्यक्रमबाट सडकको नाला निर्माण, गोरेटो बाटो तथा खेल मैदान निर्माण, गुरिल्ला पदमार्ग निर्माण, वृक्षारोपनका साथै शौचालय र आर्यघाटमा प्रतिक्षालय निर्माण गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गाउँपालिकामा ३९ लाख ८१ हजार तीन सय रुपैयाँ आएको थियो । उक्त रकमबाट ६२ जना महिला र ६ जना पुरुषले रोजगारी पाएको रोजगार संयोजक सुबेदीले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update