कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेश मामिला समिति सभापति कल्याणी खड्का चढेको गाडि रुकुम पश्चिमको चौरजहारीमा दुर्घटना भएको छ । चौरजहारी बजारबाट कोटजहारी तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको सरकारी गाडि वडा नम्बर ३ को माओवादी पार्टी कार्यालय नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी प्रदेश सभा सदस्य खड्का सहित ९ जना घाइते भएका छन् । खड्को दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
घाइते हुने अन्यमा खड्काका स्वकिय सचिव चौरजहारी ७ का २७ वर्षिय हुकुम बिसी, सोही ठाउँकी ४१ वर्षिया बिनिता गुरुङ र ५१ वर्षिया सीता बिक, वडा नम्बर ९ की ५५ वर्षिय सुगन्धा मल्ल, सोही ठाउँका ५७ वर्षिय मदन खड्का र ५५ वर्षिया ललिता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
त्यस्तै वडा नम्बर १ का ३९ वर्षिया युवराज गिरी तथा वडा नम्बर ७ की ३५ वर्षिया नैनसरा बिक पनि घाइते भएको खड्काले बताउनुभयो । घाइते सबैको अवस्था सामान्य रहेको छ भने घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडि अनियन्त्रित भई सडकबाट अन्दाजी ४ मिटर तल खसेको छ । दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक झलकप्रसाद शर्माको नेतृत्वमा ७ जनाको प्रहरी टोली खटिएको थियो ।