Kakhara सबैको खबर सम्पूर्ण खबर
काँडामा आयोजित भलिबलमा थवाङ प्रथम 

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ काँडामा आयोजित भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भूम्या पर्व बल पुजाको अवसरमा नेपाल तरूण दल काँडाले असार १ गते देखि आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो ।

रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा र  बागलुङका ३२ टिमले प्रतिस्पर्धा गरेको पुरुष भलिबलमा थवाङ गाउँपालिका रोल्पा प्रथम भएको छ । आज भएको फाईनलमा भूमे गाउँपालिका वडा नम्बर ७ लाबाङलाई ३–१ को सेटमा पराजित गर्दै थबाङ प्रथम भएको हो ।

प्रथम भएको थबाङले नगद ७५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको लाबाङले नगद ५० हजारका साथमा कप मेडल र प्रमाण पत्र हात पारेको आयोजकले जानकारी दिएको छ । निसिखोला बागलुङ तेस्रो हुँदै नगद २५ हजार, कप, मेडल र प्रमाण पत्र पाएको छ । शान्त्वना भएको आयोजकले नगद १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र हात पारेको छ । 

यस्तै आजै भएको महिला तर्फको फाइनलमा आयोजकलाई ३–० को  सेटमा पराजित गर्दै सहिद महेन्द्र लक्षु स्मृति क्लब सिस्ने गाउँपालिका वडा नम्बर ८ प्रथम भएको छ । उसले नगद ४० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै दोस्रो भएको आयोजकले नगद ३० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र हात पारेको छ । 

भूमे गाउँपालिका ८ कोर्जाले तेस्रो हुँदै नगद २० हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्दा सान्त्वना भएको भूमे ४ साकिमले नगद १० हजार, मेडल र प्रमाण पत्र पाएको आयोजक तरुण दल काँडाका अध्यक्ष बिशाल बुढा मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update