रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आगामी आर्थिक वर्षको नीति कार्यक्रम पास भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रममा नगर भित्रका मुख्य सडक र वडा कार्यालय जोड्ने सडक कालोपत्रे गर्ने योजना अघि सारेको छ । ४ वर्ष भित्रमा मुख्य सडक र वडा जोड्ने सडक कालोपत्रे गर्ने नीति, कार्यक्रममा उल्लेख छ ।
त्यस्तै नगरका तीन वटा सडकलाई सहिदका नाममा नामाकरण गरिएको छ । चौरजहारी, विजयश्वरी, मेलैनाउली, चौफा नुवाकोट सडकलाई सहिद यज्ञस्वर स्मृत सडक, मनकोट–खहरे–लहरेसिमल मानाकोट–खोलागाउँ, गरुले सडकलाई शान्त स्मृति सडक र कोटजहारी–नाउलीवजार–जुम्ली पोखरी–तिमिले–नुवाकोट सडकलाई पुर्ण स्मृति सडक नामाकरण गरिएको नगर कार्यपालिका प्रवक्ता खुमबहादुर खड्काले जानकारी दिनुभयो ।
जनयुद्धका सहिदहरुको सम्मानमा नगरपालिका भित्रका मुख्य सडकहरुको नामाकरण शहिदको नाम झल्किने गरी नामाकरण गरिएको खड्काले बताउनुभयो ।नगरपालिकाले पढनको लागि आर्थिक समस्या भएका विद्यार्थीहरुलाई विद्यार्थी सहायता कोषको स्थापना गर्ने भएको छ भने शिक्षा संग श्रम कार्यक्रम लागु गर्ने भएको छ ।
शीतल माध्यमिक विद्यालय चौरजहारी र हिमालय माध्यमिक विद्यालय खोलागाउँलाई आवासिय सुविधा सम्पन्न मेगा विद्यालयको रुपमा अगाडी वढाउने, अतिथि शिक्षक शिक्षण कार्यक्रम लागु गर्ने तथा गाउँ टोल स्तरमा गर्भवती महिलाहरुको लागि भिडियो एक्सरे सेवा प्रदान गर्ने कार्यक्रम पास भएको प्रवक्ता खड्काले बताउनुभयो ।
उहाँका अनुसार एक वडा एक नमुना उत्पादन कार्यक्रम संचालन गर्ने, कृषिमा आधारीत उद्योग व्यवसायलाई प्रवद्र्धन गरी कृषकको उत्पादनलाई नगरपालिकाबाट खरिद गरी वजारीकरणमा सहजिकरण गर्ने, वीउ उद्योग स्थापना गरी प्याकेजिङ, लेवलिङ ब्रान्डिङ गरी निर्यातको प्रवन्ध गर्ने र कृषि तथा पशु एम्वुलेन्स संचालन गर्ने नीति, कार्यक्रममा उल्लेख छ ।
त्यस्तै पूर्वाधारको दीगोपना र गुणस्तर कायमका लागि नगरपालिकामा पूर्वाधार ल्याव स्थापना गर्ने, सुख्खा डाँडा र नदी किनारका फाँटहरुमा विरुवा रोप्ने अभियान संचालन गरी हरित चौरजहारी नगरपालिकाको रुपमा विकास गर्ने, सभा सम्मेलन वैठक, लगायत औपचारिक कार्यक्रमहरु निर्धारित समयमा सूरु र अन्त्य गर्ने संस्कारको विकास गर्ने र वैकहरुको सहकार्यमा समाजिक सुरक्षा भत्ता वडामै वितरण गर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको छ ।
शुक्रबार नीति, कार्यक्रम पास गरेको चौरजहारी नगरपालिकाले बजेट आज ल्याउदै छ ।