रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका केही गाउँमा अझै पनि टेलिफोन सेवा छैन् । छिटोछरितो र सहज रूपमा सूचना आदानप्रदान गर्ने माध्यम नै टेलिफोन सेवा हो । अहिलेको युगमा सञ्चारका विभिन्न माध्यमले विश्वलाई नै एउटै गाउँ जस्तो बनाइ दिएको छ । तर, रुकुमपूर्वका विभिन्न ठाउँ तथा गाउँमा अहिले सम्म पनि टेलिफोन सेवाबाट वञ्चित भइ बस्नु पर्ने अवस्था रहेको छ ।
तीन गाउँपालिका रहेको यस जिल्लामा भूमे र सिस्ने भन्दा पुथाउत्तरगङ्गा टेलिफोनको सेवासँगसँगै अन्य विकासका पूर्वाधारबाट समेत पछि रहेको छ । १४ वटा वडा रहेको पुथाउत्तरगङ्गामा अन्य वडामा जेनतेन टेलिफोन सेवा रहेकोमा वडा नम्बर १० र ११ का आधी दर्जन बढी गाउँका करिब दुई हजार चार सय घरधुरीका नागरिक अहिले सम्म पनि टेलिफोन सेवा पाउनबाट वञ्चित छन् । वडा नम्बर १० र ११ का विभिन्न गाउँमा हाल सम्म टेलिफोन सेवा विस्तार हुन सकेको छैन् ।
वडा नम्बर १० को घुमिलबाङ गाउँ र वडा नम्बर ११ को वडा केन्द्र समेत रहेको उपल्लो सेरासँगै दम्चन, तुपा, खोरे, तातु र करालीबाङ लगायत यी दुई वडाका आधी दर्जन बढी गाउँ टेलिफोन सेवाबाट वञ्चित रहेको उपल्लो सेराका ओमबहादुर बुढा मगरले बताउनुभयो । टेलिफोन सेवा विस्तारका लागि सम्बन्धीत निकायमा धेरैपटक हारगुहार गरिए पनि सुनुवाइ नभएको बुढामगरले गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “गाउँमा टेलिफोन सेवा विस्तार नहुँदा वल्र्ड लिङ्क कम्युनिकेशनले वडा कार्यालयमा जडान गरेको इन्टरनेटबाट आफन्तसँग केहिले काँही मुस्किलले कुराकानी गर्न पाउँछौँ ।”
टेलिफोनबाट कुराकानी गर्न कुनै गाउँकालाई एक दिन, कुनैलाई एक/दुई घण्टा पैदल हिँडेर टावर टिप्ने ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय सुनार बुढा मगरले सुनाउनुभयो । यी क्षेत्रलाई टेलिफोनको सेवा पहुँच विस्तार गर्नका लागि वडा नम्बर १० को घुमिलबाङमा नेपाल टेलिकमको टावर निर्माणको काम भइहरेको गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरले बताउनुभयो । यद्यपी भौगोलिक विकटता र निर्माण सेवाको आन्तरिक कारणले टावर निर्माणमा काम ढिलाइ सुस्ती भइरहेको अध्यक्ष घर्ती मगरले जानकारी दिनुभयो । यस गाउँवासीलाई यथाशीघ्र टेलिफोन सेवामा जोड दिनका लागि टावर निर्माण व्यवसाय र जिल्लाको नेपाल टेलिकमको कार्यालयलाई ध्यानाकर्षण गरिराखेको उहाँले बताउनुभयो ।