पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । रुकुम पश्चिमको जिल्ला अस्पतालमा सोमबारदेखि शिविर सुरु भएको हो । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको छ । पाठेघर खस्ने समस्याका कारण महिलालाई भइरहेको असजिलो हटाउने उद्देश्यले शिविर आयोजना गरिएको जनाइएको छ । २ जना विशेषज्ञ डाक्टर सहित ५ जनाको टोली शिविरमा खटिएको छ । यसका साथै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले पनि यसमा सहयोग गरिरहेका छन् ।
विशेषज्ञ डाक्टर सुवी बस्न्यातले महिलामा असजिलो समस्याको रुपमा रहेको पाठेघर खस्ने समस्यालाई हटाउनका लागि शिविर आयोजना गरिएको बताउनुभयो । त्यसका लागि असजिलो नमानी शिविरमा आउन र निर्धक्क समस्या राख्न उहाँले आग्रह गर्नुभयो । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले जिल्लामा पाठेघर खस्ने समस्या धेरैमा हुन सक्ने बताउनुभयो । लाज मान्ने कारणले धेरैले यसलाई लुकाइराखेको हुन सक्ने भनाई उहाँको छ ।
लाजका कारण समस्या लुकाएर ज्यानलाई थप असजिलोमा नपार्न उहाँले आग्रह गर्नुभएको छ । शिविर उद्घाटन गर्दै जिल्ला समन्वय समिति उपप्रमुख इन्दिरा विएमले जिल्लामा आएको यो अवसर नछुटाउन सबैलाई आग्रह गर्नुभयो । जिल्लामै निःशुल्क र विशेषज्ञ डाक्टरको साथमा हुने शल्यक्रियाका लागि आउन उहाँले सबैलाई अनुरोध गर्नुभएको छ ।