रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट ल्याएको छ । आज भएको गाउँसभाको नवौं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले आगामी आर्थिक वर्षका लागि झण्डै ५१ करोडको अनुमानित बजेट पेश गर्नुभएको हो । जसअनुसार गाउँपालिकाको आगामी वर्षको बजेट ५० करोड ९६ लाख ४० हजार ५ सय २२ रुपैयाँ रहेको छ ।
कुल विनियोजित बजेट मध्ये चालु तर्फ ३८ करोड ४ लाख २८ हजार रहेको छ । यो कुल बजेटको ७४.६५ प्रतिशत हो । पुँजीगत तर्फ भने कुल बजेटको २५.३५ प्रतिशत मात्र रहेको छ । पुँजीगत तर्फ कुल बजेट मध्ये १२ करोड ९२ लाख १२ हजार ५ सय २२ रुपैयाँ रहेको छ ।
आगामी वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरु मध्ये आन्तरिक राजश्वबाट १ करोड, संघीय सरकार वित्तीय समानीकरण अनुदानबाट ८ करोड ५९ लाख, संघीय सरकार सशर्त अनुदानबाट २२ करोड ३० लाख, संघीय सरकार समपूरक तर्फ ८० लाख, संघीय विशेष तर्फ १ करोड ६५ लाख र संघीय सरकार राजश्व बाँडफाँडबाट ७ करोड ८९ लाख ६४ हजार १ सय रुपैयाँ रहेको छ ।
त्यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ९२ लाख २१ हजार, प्रदेश सरकार सशर्त अनुदानबाट ४ करोड २६ लाख ८४ हजार, प्रदेश सरकार समपूरक तर्फ २ करोड, प्रदेश सरकार विशेष तर्फ ८० लाख र राजश्व बाँडफाँडबाट ५ लाख ७ हजार ४ सय २२ रुपैयाँ आउने अनुमान गरिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा खर्च नभई बचत हुने रकम ६९ लाख प्रक्षेपण गरिएको छ ।
गाउँपालिको आजै नीति तथा कार्यक्रम पनि ल्याएको छ । बजेट वक्तव्य अघि गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले आगामी वर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।