Kakhara सबैको खबर सम्पूर्ण खबर
टाउकोले टेकेको शिक्षालाई खुट्टाले टेकाउनु छः मुख्यमन्त्री शर्मा 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले वर्तमान शिक्षा सही बाटोमा नभएको बताउनुभएको छ । २०२८ सालमा बनेको शिक्षा ऐनले बर्तमान अवस्थालाई समेट्न नसक्ने भन्दै उहाँले बर्तमान शिक्षा टाउकोले टेकिरहेको बताउनुभयो । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको १३ औं गाउँसभा अन्तर्गत बजेट प्रस्तुतीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले टाउकोले टेकेको शिक्षालाई खुट्टाले टेक्ने बनाउन आवश्यक रहेको बताउनुभयो ।

देश विकास गर्ने जनशक्ति उत्पादन गर्ने कारखाना शिक्षा बन्नुपर्नेमा बरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकार शिक्षालाई सही बाटोमा ल्याउने अभियानमा रहेको उहाँको भनाई छ । ‘अवका शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुहुन्न, यसमा हामी गम्भिर भएर लागेका छौं, शिक्षामा सुधार गर्नै पर्ने छ,’ उहाँले भन्नुभयो ।

साथै उहाँले कर्णालीवासीको स्वास्थ्यमा तुलनात्मक रुपमा सुधार आएको तर यसमा अझ धेरै सुधार हुन आवश्यक रहेको मुख्यमन्त्री शर्माले बताउनुभयो । त्यस्तै वन पैदावार, जडिबुटी लगायतका प्राकृतिक स्रोत साधानको प्रयोगबाट जीवनस्तर उकास्न तर्फ प्रदेश सरकार लागि परेको उहाँले बताउनुभयो । ‘कृषिमा व्यवसायीकता विकास, पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने खालका कार्यक्रममा पनि प्रदेश सरकार लागेको छ,’ उहाँले भन्नुभयो ।

रुकुम पश्चिममा भएका सिसा खानी, फलाम खानी, तामा खानी, दैलेखमा पट्रोलको उत्खनन् र जथाभावि बगिरहेको पानीको सदुपयोग गर्न सकेमा समृद्धि टाढा नभएको उहाँले बताउनुभयो । कर्णालीमा प्रशासनिक संघीयता नआएको समेत उहाँले दोहोर्याउनुभयो । सार्वजनिक खरिद ऐन जनमुखी नभएका कारण समस्या भएको पनि उहाँको भनाई छ । खरिद ऐन ठेकेदार मुखी भएका कारण समस्या भएको देखिने गरी विकास हुन नसकेको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update