रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको १२ औं नगर सभा यतिबेला सवत्र चर्चामा छ । नीति तथा कार्यक्रम वा बजेटका कारण भने नगर सभाको चर्चा भएको होइन । नगरपालिकाको वडा नम्बर ७ मा रहेको ठूलीदहमा नगर सभा गरिएपछि विभिन्न टिकाटिप्पनी भइरहेका छन् । यसमा सकारात्मक भन्दा नकारात्मक बढी छन् ।
नगर सभाको ओज नै घटाउने गरी खुला ठाउँमा गरेको र खर्चिलो भएको भन्दै सामाजिक सञ्जाल देखि चोक चौतारो र चिया पसलमा आलोचना भइरहेको छ । कतिले यसलाई नगर सभा नभई बनभोजको संज्ञा समेत दिएका छन् । ठूलीदहमा गरिएको नाचगान र अनावश्यक मान्छेहरुको भिडले समेत त्यसलाई बल पुर्याइरहेको छ ।
सभामा झण्डै साढे २ सय जना व्यक्तिहरु सहभागी हुने नगरपालिकाले अनुमान गरेकामा झण्डै एक हजार मान्छे ठूलीदह पुगेको बताइएको छ । नगर प्रमुख महेन्द्र केसीले पनि नगर सभा सदस्य र पत्रकार बाहेक अन्यलाई सभामा नबोलाइएको प्रतिक्रिया दिनुभएको थियो । नगरपालिकाले सोही अनुसार खाजा, खानाको व्यवस्था गरेको थियो । तर अनुमान गरिएको भन्दा निकै धेरै मान्छे गएपछि व्यवस्थापनमा असहजता देखिएको थियो ।
नगर सभाको महत्व नै विर्सिएर सभा गरेको भन्दै नगरपालिकाको आलोचना भइरहेको छ । तर केहीले भने पर्यटकीय स्थानका रुपमा रहेको ठूलीदहको थप प्रचारका लागि यो सकारात्मक कदम भएको प्रतिक्रिया दिइरहेका छन् । सरकारले गर्ने यस्ता कार्यक्रमले कुनैपनि ठाउँको महत्व बढ्ने र चर्चा हुने भएकोले यसलाई सकारात्मक रुपमा बुझ्नुपर्ने उनिहरुको तर्क छ ।
नगरपालिका पनि यसलाई अन्यथा नलिन भन्छ । नगर प्रमुख महेन्द्र केसीले ठूलीदहको प्रचारका लागि पबित्र मनशायले गरेको कार्यक्रमलाई अनावश्यक विवादित नबनाउन आग्रह गर्नुभयो । ‘ठूलीदह मुसिकोट नगरपालिकाको एक प्रमुख पर्यटकीय स्थल हो तर आवश्यक प्रचारप्रसार, पूर्वाधार लगायतका कारण त्यति चर्चामा छैन्, उहाँले भन्नुभयो–ठूलीदहको प्रवद्र्धनका लागि नगरपालिकाले विभिन्न काम गर्दै आइरहेको छ, त्यसै अन्तर्गत नगरसभा ठूलीदहमा गर्ने निर्णय भएको हो ।’
नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रमबाट नगरपालिका मार्फत ठूलीदहको प्रचारप्रसार, घाटोघाटो निर्माण देखि अन्य संरचना व्यवस्थापनका लागि काम भइरहेको उहाँले बताउनुभयो । ठूलीदहमा नगरसभा आयोजना भएपछि अव ठूलीदहका बारेमा अझ धेरै प्रचार भएको नगर प्रमुख केसीको भनाई छ ।
आइतबार भएको नगर सभामा आगामी आर्थिक वर्ष २०८० ०८१ को नीति तथा कार्यक्रम र बजेट पेश गरिएको थियो । नगरपालिकाले झण्डै ७५ कराेड बराबरकाे बजेट ल्याएकाे छ ।