Kakhara सबैको खबर सम्पूर्ण खबर
शान्ति सुरक्षा नभए सेवा बन्द गर्ने नेपाल लघुवित्त बैंकर्स संघको चेतावनी
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाइ ज्ञापन पत्र बुझाउदै ।

शान्ति सुरक्षाको माग गर्दै नेपाल लघुवित्त बैंकर्स संघले देशभरीका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । लघुवित्त विरुद्धका गतिविधिले कर्मचारीमाथि कालोमोसो र कुटपिट गर्न थालेपछि शान्ति सुरक्षाको माग गर्दै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत संघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

रुकुम पश्चिमबाट पनि ज्ञापन पत्र बुझाइएको छ । आज लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ज्ञापन पत्र बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको मञ्चका बरिष्ठ उपाध्यक्ष संगम केसीले जानकारी दिनुभयो ।

लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षा नभए आफूहरु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । लघुवित्त संस्था विरुद्ध विगतदेखि केही व्यक्ति तथा राजनीतिक समूहले ‘लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति’ नामको अवैधानिक समुहले विभिन्न गतिविधि गरेकाले  लघुवित्तकर्मीहरुले कार्वाहीको माग गरेका छन ।

‘अवरोध गर्ने, कपोलकल्पित आक्षप लगाई अनर्गल प्रचार प्रसार गर्ने, वित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले वित्तीय संस्थाको कार्यालयमा ताल्चा लगाउने, लघुवित्तकर्मीलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोबल कमजोर गराउने, कर्मचारीहरु माथि हातपात गर्ने, रकम लुटपाट गर्ने, सदस्यहरुलाई वित्तीय सेवा उपयोग गर्न बाधा पुर्याई लघुवित्तलाई नै धराशायी गराउने जस्ता कानून विपरितका गतिविधि भईरहेका छन्,’ यस्ता गतिविधि तत्काल रोक्न संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त समूहले गैर कानूनी रुपमा लघुवित्तका सदस्यबाट ५ सय रुपैयाँ देखि २ हजार रुपैयाँसम्म शुल्क उठाई कराडौं रुपैयाँ दुरुपयोग गरेको आरोप समेत संघले लगाएको छ । कर्जा लिएर नतिर्ने, अटेरी गर्ने, वित्तीय अनुशासन नभएका, मादकपदार्थ सेवन गर्ने र समाजमा आर्थिक रुपमा बदनाम भएका ब्यक्तिहरु लघुवित्त विरुद्धका गतिविधिमा संलग्न रहेको संघको दावी छ ।

यस्ता गतिविधिहरु निरन्तर चली रहने, राज्य संयन्त्रबाट असहयोग हुने र हालको सुरक्षा अवस्थामा सुधार नभएमा लघुवित्त वित्तीय संस्थाहरुले अझ कडा कदम चाल्ने र सम्पूर्ण सेवाहरु बन्द गर्नुपर्ने जस्ता अप्रिय निर्णय लिन बाध्य हुने लघुवित्त बैंकर्स संघका कार्यवाहक अध्यक्ष मिनबहादुर बोहराले बताउनुभयो । 
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update