Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा लघुवित्त संस्थामा तालाबन्दी गर्ने २ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले लघुवित्त वित्तिय संस्थामा तालाबन्दी गर्ने र साइनबोर्ड च्याति फाल्ने दुई जनालाई पक्राउ गरकाे छ । जिल्लाकाे आठबीसकाेट नगरपालिका वडा नम्बर ९ राडीबजार स्थित ग्लाेबल आई.एम.ई. लघुवित्त वित्तिय संस्थामा तालाबन्दी गर्ने र संस्थाकाे साइनबोर्ड च्यातेर फालेकाे भन्दै दुई जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा आठबीसकाेट ९ राडीका ४० वर्षिय कुबेर ओली क्षेत्री र आठबीसकाेट ५ रिम्काका २५ वर्षिय महेश बस्नेत रहेकाे जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । उनिहरूले असार १० गते अपराह्न ४ बजेतिर कार्यालयमा एक्कासि प्रवेश गरि कार्यालयकाे मुख्य ढाेकामा ताला लगाउनुका साथै कार्यालयकाे साइनबोर्ड च्यातेर भागेकाे भन्दै उजुरी परेपछि उनिहरूलाई पक्राउ गरिएकाे खड्काले बताउनुभयो ।

उनिहरूलाई इलाका प्रहरी कार्यालय राडीबाट खटिएकाे प्रहरी टाेलीले साेमबार बिहान ६ बजेतिर राडी बजारमै फेला पारि पक्राउ गरेकाे हाे । उनिहरू माथि अभद्र व्यवहार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालयबाट पहिला पटक ७ दिनकाे म्याद थप गरि अनुसन्धान गरिरहेकाे प्रहरी निरीक्षक खड्काले बताउनुभयाे ।

पछिल्लाे समय लघु वित्तीय संस्था विरूद्घ आन्दाेलन हुनुका साथै भाैतिक रूपमा आक्रमण समेत हुन थालेकाे छ । हिजाे मात्र सुरक्षाकाे माग गर्दै लघु वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूले ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update