Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका स्थानीय तहले ल्याए पौने ४ अर्बको बजेट, सबैभन्दा बढी चौरजहारी र कम सानीभेरीको  
बजेट प्रस्तुत गर्न जाँदै चाैरजहारी नगरपालिका उप प्रमुख इश्वरी शर्मा बिएम ।

रुकुम पश्चिमका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि पौने ४ अर्बको बजेट ल्याएका छन् । ३ नगरपालिका र ३ गाउँपालिकाले आगामी वर्षका लागि कुल ३ अर्ब ७६ करोड ७ लाख ५ हजार ४ सय ९० रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । स्थानीय तहले ल्याएको कुल बजेटमा पुँजीगतको तुलनामा चालु बजेट दोब्बर भन्दा बढी रहेको छ । जिल्लाभरको कुल पुँजीगत बजेट १ अर्ब १४ करोड ३४ लाख ३० हजार ५ सय ९४ रहेको छ । चालु तर्फ भने २ अर्ब ६१ करोड ७२ लाख ६० हजार २ सय १८ रहेको छ । 

जिल्लामा सबै भन्दा बढी बजेट चौरजहारी नगरपालिका र कम सानीभेरी गाउँपालिकाको छ । चौरजहारीले ८१ करोड १ लाख ४ हजार ८ सय ६६ रुपैयाँ बजेट अनुमान गरेको छ । सानीभेरीको ५० करोड ६७ लाख ५८ हजार १ सय २९ रुपैयाँ रहेको छ । जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकाले ७४ करोड ८६ लाख २७ हजार ५ सय २५ रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । आठबीसकोट नगरपालिकाले ६३ करोड ५० लाख ६४ हजार ४ सय ४८ रुपैयाँ बराबरको बजेट पास गरेको छ । 

बाँफिकोट गाउँपालिकाले ५५ करोड ५ लाख १० हजार बजेट अनुमान गर्दा त्रिवेणी गाउँपालिकाले ५० करोड ९६ लाख ४० हजार ५ सय २२ रुपैयाँ बरावरको बजेट अनुमान गरेको छ । चौरजहारी नगरपालिकाले ८ गते नीति, कार्यक्रम ल्याएकामा ९ गते बजेट ल्याएको थियो । अन्य स्थानीय तहले भने असार १० गते नै नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन । केही स्थानीय तहले बजेट पारित समेत गरिसकेका छन् भने केहीले बाँकी छ । पालिकाले १० गतेसम्म गाउँ तथा नगर सभामा नीति कार्यक्रम र बजेट पेश गरिसक्नुपर्ने र असार मसान्तसम्म भित्र पास गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update