प्रथम बागमारा सांस्कृतिक, कृषि, पर्यटन तथा ब्यापार महोत्सवको तयारी पुरा भएको छ । असार १३ गते भोली देखि सुरु हुने महोत्सव २७ गतेसम्म सञ्चालन हुने छ । महोत्सवका लागि मञ्च व्यवस्थापन तथा स्टल निर्माणको काम करिब पुरा भएको आयोजकले जनाएको छ । “ब्याडमिन्टन खेल विकासको लागी हाम्रो अग्रसरता, स्वस्थ समाज निमार्णको लागी हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ पहिलो पटक सो महोत्सव हुन लागेको हो ।
महोत्सव भव्य बनाउन सबैसँग समन्वय सहकार्य भएको र महोत्सव उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको आयोजक प्रगतिशील ब्याडमिन्टन क्लवका अध्यक्ष प्रेमकुमार बुढामगरले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र साँस्कृतिक सम्पदाको प्रचारका लागि महोत्सव हुन लागेको अध्यक्ष बुढामगरले बताउनुभयो । पालिकाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेर पर्यटक भित्र्याउने र त्यसकै माध्यमबाट जिल्लाको विकासमा टेवा पु¥याउने लक्ष रहेको आयोजकको भनाई छ ।
महोत्सवमा जिल्ला भित्रका सबै पर्यटकीय क्षेत्रको प्रचारका लागि पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिइने छ भने स्टलहरुमा पनि जिल्ला र पालिकाको पहिचान झल्किने वस्तु राख्ने बताइएको छ । स्थानीयले तयार पारेका सामग्री सहितका विभिन्न स्टल निर्माण गरिएको आयोजक समितिले बताएको छ ।
भोली लुम्बीनी प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुन सिजलले महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव व्यवस्थापन समितिका संयोजक सुरेन्द्रप्रकाश गिरीले जानकारी दिनुभयो । महोत्सवमा महानायक राजेश हमाल, जनगायक जीवन शर्मा, लोक गायक पशुपती शर्मा, ज्योती मगर लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी गराएको छ ।
बजार ब्यबस्थापन समिति परिवर्तन गाउँपालिका ३ बागमारा रोल्पा सह–आयोजक रहेको महोत्सवमा पुरुष युगल ब्याडमिन्टन प्रतियोगिताको पनि राखिएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, दोस्रो हुनेले नगद १० हजार, तेस्रो हुनेले नगद ७ हजार ५ सय र सान्त्वना हुनेले ५ हजार पुरस्कार पाउने खेलाडी गोबिन्द ओलीले जानकारी बताउनुभयो ।