रुकुम पश्चिममा ७० वर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ५७ वर्षिय पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर १ भण्डार स्थित ७० वर्षिया बृद्धालाई जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सोही ठाउँका ५७ वर्षिय बीरबहादुर खड्कालाई रुकुम जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कारागारले असार ७ गते खड्कालाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । घटना गत बैशाख १३ गतेको रहेको उहाँले बताउनुभयो । जबरजस्ती करणी गरी वेपत्ता भएका खड्कालाई खोजतलास गर्ने क्रममा गत जेठ २२ गते पक्राउ गरिएको उहाँको भनाई छ ।
अनुसन्धान कार्य सकी असार ७ गते अदालतमा मुद्दा पेश गरेकोमा थुनछेक आदेश पश्चात प्रतिवादी खड्कालाई अदालतले सोही दिन पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।