हरेक वर्षको असार १५ गते मनाइने राष्ट्रिय धान दिवस रुकुम पश्चिममा पनि मनाइदै छ । पर्सी धान रोपाई गरेर दिवस मनाउन लागिएको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ । यो वर्ष दिवसको अवसरमा मुसिकोट नगरपालिका वडा नम्बर ३ को माछिमी जिउलामा धान रोपाई कार्यक्रम राखिएको छ ।
अघिल्ला वर्षहरुमा वडा नम्बर ४ को सोलाबाङमा धान रोपाई गरि दिवस मनाउने गरिएकोमा यो वर्ष भने माछिमी जिउलामा धान दिवस मनाउन लागिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । माछिमी जिउला रुकुम पश्चिमका धान खेती हुने फाँट मध्यको एक हो ।
सानीभेरी नदी नजिकै रहेको यो फाँट धानका साथै ताजा तरकारी तथा तरकारीको बीउ उत्पादनका हिशावले उर्बर छ । जलवायु अनुकूलित कृषक मैत्री प्रबिधि, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ यो वर्ष देशभरमा राष्ट्रिय धान दिवस मनाइदै छ । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा असार महिनालाई चिनिन्छ । धान उत्पादनलाई बढाउन सहयोग गर्ने उदे्श्यका साथ हरेक वर्ष धान दिवस मनाइन्छ ।