रुकुम रुकुम पश्चिममा ३ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ स्थित खलंगामा आजबाट ३ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको हो । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरेको हो ।
तालिममा जिल्लाका ६ वटै पालिकाबाट २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय जिल्लामा पत्रकारहरुको संख्या कम हुँदै गएको अवस्थामा नयाँ पत्रकार उत्पादन गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।
३ दिनसम्म संचालन हुने तालिमका सहभागिहरुलाई जिल्लाकै पत्रकारहरुले सिकाउने छन् । तालिम १५ गतेसम्म संचालन हुने छ । अध्यक्ष केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी नायब उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरीक्षक गोबिन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, पत्रकार महासंघ रुकुमका पूर्व अध्यक्ष तथा सल्लाहकार गणेश बिक, त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्री, जिल्लास्थित पत्रकारका विभिन्न संगठनका प्रमुखहरु लगायतको आथित्यता रहेको थियो ।
शाखाका सचिव हिरा परियारले सञ्चालन गर्नुभएको तालिमको उद्घाटन सत्रमा शाखाका सह–सचिव नाराणण ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो ।