रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ५ को मारपुजा सामुदायिक वनमा ४ हजार बिरुवा रोपिएको छ । जिल्लाको प्रसिद्ध धार्मिक स्थलको रुपमा रहेको दुदिलचौर लगायतका क्षेत्रमा बिरुवा रोपिएको हो । उक्त क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।
मारपुजा वन क्षेत्रको काफलचरी, दुदिलचौर र नौलापाखा क्षेत्रमा बिरुवा रोपिएको मारपुजा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष तप्तबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चिउरी, टिम्मुर र तेजपत्ताको बिरुवा लगाईएको हो । ४ हजार मध्य ५ सय चिउरी, १ हजार तेजपत्ता र २५ सयको टिम्मुरका बिरुवा लगाइएको हो ।
वन डिभिजन कार्यालय रुकुम पश्चिमले बिरुवा खरिदको लागि आर्थिक सहयोग गरेको उपाध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालयले २ लाख १६ हजार बिरुवा खरिदको लागि आर्थिक सहयोग गरेको हो । करिब ११ दिन लगाएर बिरुवा रोपिएको उपाध्यक्ष केसीले बताउनुभयो ।