राष्ट्रिय वृक्षरोपण दिवस २०८० को अवसरमा रुकुम पूर्वमा टिमुरका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय रुकुमपूर्वको आयोजनामा जिल्लाको सिस्ने गाउँपालिका-५ स्थित शिवशक्ति सामुदायिक वनमा टिमुरका बिरुवा रोपिएको हो ।
‘सन्ततिका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं’ भन्ने नाराका साथ बिहीबार आज बिहान एक हजार तीन सय टिमुरका बिरुवा रोपिएको डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काले बताउनुभयो । साँझ सम्म उक्त सामुदायिक वनमा तीन हजार बोट टिमुरका बिरुवा रोपिने खड्काले जानकारी दिनुभयो ।
बिहान जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ प्रमुख उपस्थितिमा बिरुवा रोपिएको हो । आज दिउँसो र शुक्रबार भोलि सम्म कृषि समूहले टिमुरका बिरुवा रोप्ने बताइएको छ । बिहीबार र शुक्रबार दुई दिनमा उक्त सामुदायिक वनमा करिब साढे चार हजार टिमुरका बिरुवा रोपिने वन कार्यालयले जनाएको छ । वृक्षरोपणको शुभारम्भ आज बिहान जिसस प्रमुख श्रेष्ठसँगै प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा लगायत जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय र स्थानीय गरी एक सय २० जनाको सहभागिता रहेको थियो ।