रुकुम पूर्व भूमे गाउँपालिकामा शुक्रबार भोलि देखि कृषकलाई फलफूलका बिरुवा वितरण गरिँदै छ । यसअघि गाउँपालिकाको कृषि शाखाले मागमा आधारित कार्यक्रम मार्फत कृषकलाई फलफूलका बिरुवा मागका लागि बिरुवा माग गर्न आह्वान गरिएको थियो । उक्त समयवधिमा कृषकले माग गरेका बिरुवा गाउँपालिकाको कृषि शाखाले खरिद गरी गाउँपालिकामा ल्याएको छ ।
५० प्रतिशत कृषकको लगानी र ५० प्रतिशत गाउँपालिकाको अनुदानमा फलफूलका बिरुवा वितरण गर्न लागिएको कृषि शाखाका नाप्रास विशाल पुन मगरले बताउनुभयो । कृषि समूह, कृषि फर्म लगायत कृषकले माग गरे अनुसार फलफूलका बिरुवा गाउँपालिकाले खरिद गरेको पुन मगरले जानकारी दिनुभयो । बिरुवा माग आह्वानका क्रममा कृषकले आठ प्रकारको फलफूलका बिरुवा माग गरेका थिए । सुन्तला, टिमुर, जुनार, कागति, एभोकाडो, अनार, अलैची र स्टाभेरीका बिरुवा कृषकले माग गरेका हुन् । आठ प्रकार फलफूलका बिरुवा गरी तीन हजार ७ सय ५८ वितरण गर्न लागिएको पुन मगरले बताउनुभयो ।
यसअघि कृषकले माग गरेका कृषकलाई भोलि शुक्रबार देखि गाउँपालिकाको केन्द्र खाबाङ बगरबाट फलफूलका बिरुवा वितरण गरिँदै छ । फलफूलका बिरुवा माग गरेका कृषकले शुक्रबार देखि गाउँपालिकामा गइ बिरुवा लिन कृषि शाखाले अनुरोध गरेको छ ।