आर्थिक वर्ष २०८०/०८१ का लागि रुकुमपूर्वमा साढे एक अर्बको बजेट पेस भएको छ । जिल्लाका ३ तीन गाउँपालिकाको गरी गाउँसभामा एक अर्ब ४९ करोड ५५ लाख ४६ हजार ६ सय २० रुपियाँको बजेट पेस भएको हो ।
पुथाउत्तरगङ्गा, भूमे र सिस्ने गरी जिल्लामा तीन गाउँपालिका मात्र रहेको छ । गाउँसभामा पेस भएको बजेट माथि छलफल पछि पारित गर्ने तयारी भइरहेको छ । असार १० भन्दा अघि गाउँसभामा पेस भएको नीति तथा कार्यक्रम र बजेट गाउँसभाले असार मसान्तभित्रै पारित गर्नुपर्ने प्रावधान छ ।
सिस्ने गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले ५० करोड ४० लाख ८० हजार ३ सय ८५ रुपियाँको बजेट पेस गर्नु भएको छ । जसमध्ये चालुगत तर्फ ३८ करोड, २४ लाख, ३२ हजार ४ सय ९८ रुपियाँ (७६ प्रतिशत) रहेको छ भने पुँजीगत तर्फ १२ करोड, १६ लाख, ४७ हजार ८ सय ८७ रुपियाँ (२४ प्रतिशत) रहेको छ ।
यस्तै भूमे गाउँसभामा उपाध्यक्ष सविना बुढाले ५० करोड, ३५ लाख, १५ हजार, ७ सय ३५ रुपियाँ बजेट पेस गर्नु भएको छ । चालुगत तर्फ ३२ करोड, ९२ लाख, ८५ हजार, ५ सय ३५ रुपियाँ (६५.३९ प्रतिशत) छ भने पुँजीगत तर्फ १७ करोड, ४२ लाख, ३० हजार, २ सय रुपियाँ (३४.६० प्रतिशत) रहेको छ । यसैगरी पुथाउत्तरगङ्गा गाउँसभामा उपाध्यक्ष भुपेन्द्रा बुढाले ४८ करोड, ६९ लाख, ५० हजार ५ सय रुपियाँ पेस गर्नु भएको छ । चालुगत तर्फ ३१ करोड, ५२ लाख, ८४ हजार, ५ सय (६४.८० प्रतिशत) रहेको छ भने पुँजीगत तर्फ १७ करोड, १६ लाख, ६६ हजार रुपियाँ (३५.२० प्रतिशत) रहेको छ ।
गाउँसभाको आन्तरिक राजस्व तथा प्रदेश र सङ्घीय सरकारको वित्तीय समानीकरण, ससर्त अनुदान, राजस्व बाँडफाँट, समपूरक, विशेष अनुदान र गैरसरकारीबाट प्राप्त भएको रुपियाँ पनि बजेटमा समेटिएको भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । पुथाउत्तरगङ्गाका उपाध्यक्ष भुपेन्द्रा बुढाका अनुसार सभामा छलफल गरी परिमार्जन सहित बजेट पारित हुनेछ । शीर्षक थपघट भए पनि प्रस्तुत बजेट नै पारित हुने उहाँले बताउनुभयो ।