रुकुम पूर्व भूमे गाउँपालिकाको स्वास्थ्य नीति तथा कार्यविधि निर्माणका लागि अन्तिम मस्यौदा परामर्श गोष्ठी गरिएको छ । भूमे गाउँपालिकाको आयोजना र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) रुकुम पूर्वको सहकार्यमा बिहीबार गाउँपालिकाको सभाहल खाबाङ बगरमा सरोकारवालासँग परामर्श गोष्ठी गरिएको हो ।
गाउँपालिकावासीलाई स्वास्थ्यको सहज पहुँच तथा गुणस्तरीय सेवाका लागि भूमे स्वास्थ्य नीति तथा कार्यविधि निर्माणमा लागेको छ । उक्त स्वास्थ्य नीति तथा कार्यविधि निर्माणका लागि अन्तिम मस्यौदा परामर्श गोष्ठी गरिएको युएनएफपीएका जिल्ला कार्यक्रम अधिकृत भुवनसिंह सेजुवालले बताउनुभयो । स्वास्थ्य सेवा सहज तथा व्यवस्थित रूपमा आम समुदाय समक्ष पुर्याउने खालको नीति तथा कार्यविधि निर्माण हुनु पर्ने सरोकारवालाले बताएका छन् । स्वास्थ्य नीति तथा कार्यविधि बालबालिका, महिला, अपाङ्गमैत्री र ज्येष्ठ नागरिकलाई मुख्य लक्षित गरी नीति हुनु पर्ने स्थानीयको भनाइ रहेको छ ।
स्वास्थ्यमा सक्दो भरपुर रुपमा काम भइरहेको उपाध्यक्ष सविना बुढाले बताउनुभयो । स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव तथा स्रोत साधनको समस्या रहेकोले स्वास्थ्य सेवा प्रवाहमा केही कठिनाइ भइरहेको बुढाले बताउनुभयो । यी समस्या र अभावलाई मध्येनजर गरी आगामी स्वास्थ्य नीति तथा कार्यविधि निर्माण गरी स्वास्थ्य क्षेत्रमा काम गर्दै जाने उपाध्यक्ष बुढाको भनाइ रहेको छ । गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गरिराखेको उहाँले बताउनुभयो ।
यसैगरी परामर्श गोष्ठीलाई समापन गर्दै गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले स्वास्थ्य नीति तथा कार्यविधिलाई थप परिमार्जन गरी गाउँसभाबाट पारित गरेर कामलाई अघि बढाउने बताउनुभयो । भविष्य सम्ममा यस नीति अनुसार समुदायका लागि स्वास्थ्य कार्यक्रम सञ्चालनमा टेवा पुग्ने श्रेष्ठले बताउनुभयो । समुदायको भावना र स्वास्थ्यमा देखिएको समस्या आधार बनाएर नीति तथा कार्यविधि निर्माण गर्नु पर्ने अध्यक्षले जोड दिनुभयो ।
गोष्ठी कार्यक्रममा भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढा, प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ, युएनएफपीए लुम्बिनी प्रदेश प्रमुख रामबहादुर थापा, भूमे स्वास्थ्य शाखाका संयोजक उपेन्द्र यादव, युएनएफपीए रुकुमपूर्वका कार्यक्रम अधिकृत भुवनसिंह सेजुवाल र वडाध्यक्षहरू, गाउँपालिका स्थित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीय सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।