राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा रुकुम पश्चिमका विभिन्न ठाउँमा वृक्षारोपण गरिएको छ । दिवसको अवसरमा बिहिबार जिल्लाका ८ ठाउँमा विभिन्न प्रजातीका ८ सय ७१ वटा विरुवा रोपिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ५ को सेरिगाउँ देखि वडा नम्बर ३ को पिपलनेटासम्म मध्यपहाडी लोकमार्गको किनारामा ४ सय ७० वटा, त्रिभुवन जनता मावि खलंगामा २० वटा, त्रिवेणी १० गैरीखेतमा २० वटा र त्रिवेणी ७ मुरुडाँडा विद्यालय परिषरमा २ सय २० वटा विरुवा रोपिएको डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौरजहारी नगरपालिका १० को सहिद स्मृति पार्क र चौरजहारी ११ को सर्केना टाटाबजार सडक किनारामा २५/२५ वटा, बाँफिकोट गाउँपालिकाको छिनखेत विद्यालय परिषरमा ५० वटा र मुसिकोट नगरपालिका ७ रिनदहमा ४१ वटा विरुवा रोपिएको छ । कपुर, बेल, गोल्मोहर, कल्की, तेजपात, छतिवन र गोल्डमोर प्रजातीका विरुवा रोपिएको डिभिजन वन अधिकृत परियारले बताउनुभयो ।
त्यस्तै मयुरपंखी, पारिजात, इपिलइपिल, गुलमोर र धुपिसल्लाका विरुवा समेत रोपिएको उहाँले बताउनुभयो । वन संरक्षण र हरियालीका लागि दिवसको अवसर पारी विभिन्न प्रकारका विरुवा रोपिएको परियारले बताउनुभयो । यसबाट सडक तथा विद्यालयको सौन्दर्यता समेत बढ्ने विश्वास गरिएको छ ।