Kakhara सबैको खबर सम्पूर्ण खबर
तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आयोजना गरेको तीन दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । बुधबारबाट खलंगामा संचालन भएको आधारभुत पत्रकारिता तालिम तीन दिनसम्म संचालन भएर आज सकिएको हो । त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ शाखा रुकुम पश्चिमले तालिमको आयोजना गरेको थियो ।

तालिममा ६ वटै स्थानीय तहबाट २५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिमका सहभागीहरुलाई आधारभूत पत्रकारिताका बारेमा सिकाइएको थियो । 

नयाँ पत्रकार उत्पादन गर्ने उदेश्यले तालिम आयोजना गरेको पत्रकार महासंघले आउँदा दिनमा पनि स्थानीय तहसंग सहकार्य गरेर  पुनर्ताजकी तालिम संचालन गर्ने जनाएको छ । तालिमका सबै सहभागिहरुलाई प्रमाण–पत्र र यातायात खर्चको व्यवस्था गरिएको थियो । त्यस्तै महासंघले तामिम संचालन गर्दा लागेको खर्च सार्वजनिक समेत गरेको छ । 

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै त्रिवेणी गाउँपालिकाका कार्यबाहक अध्यक्ष रणबहादुर पुनले त्रिवेणी गाउँपालिकाले गरेको लगानीको भरपुर उपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । तालिममा सिकेका कुरा व्यवहार लागु गरी पत्रकारिता क्षेत्रमा स्थापित हुन उहाँले प्रशिक्षार्थीलाई शुभकामना समेत दिनुभयो । 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाका अध्यक्ष केसीको अध्यक्षतामा भएको समापन कार्यक्रममा त्रिवेणी गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्री, पत्रकारका पेशागत संघ संगठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update