रुकुम पश्चिममा पछिल्ला तीन वर्षमा सवारी दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७/०७८, गत आर्थिक वर्ष २०७८/०७९ र चालु आर्थिक २०७९/०८० मा जिल्लाका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार यही अवधिमा सवारी दुर्घटनामा ६९ जना घाइते भएका छन् । यि तीन वर्षमा २६ वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । मृत्यु हुनेमा २९ पुरुष, ३ महिला र १ बालबालिका रहेकामा घाइते हुनेमा ५८ पुरुष, ८ महिला र ३ बालबालिका रहेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा ६ वटा सवारी दुर्घटनामा ९ जना पुरुषको मृत्यु भएको थियो भने ३ जना पुरुष घाइते भएका थिए । गत आर्थिक वर्ष २०७८/०७९ मा जिल्लाभर १२ वटा सवारी दुर्घटना भएकामा १२ पुरुषको मृत्यु भएको थियो भने ५३ महिला घाइते भएका थिए । घाइते हुनेमा ५० पुरुष र ३ महिला थिए ।
चालु आर्थिक वर्षको हालसम्म सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो । ८ वटा सवारी दुर्घटना भएकामा ७ पुरुष, ३ महिला र १ बालबालिका गरी ११ जनाको मृत्यु भएको छ भने ५ पुरुष, ५ महिला र ३ बालबालिका गरी १३ जना घाइते भएको उहाँले बताउनुभयो ।