रुकुम पश्चिममा ६ महिनाको अवधिमा १९ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् । १ जनवरी २०२३ देखि ३० जुन सम्म १९ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका हुन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले खंलगामा गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ को अर्धवार्षिक पूर्व समिक्षामा ६ महिनाको तथ्याङ्क सार्वजनिक गरेको हो । गतवर्षको यही अवधिको तुलनामा यो वर्ष मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा कमि आएको देखिएको छ ।
गत वर्षको अर्धवार्षिक अवधिमा ३२ वटा घटना भएका थिए भने यो वर्ष १९ वटा घटना भएको इन्सेक प्रतिनिधि मनिषा केसीले जानकारी दिनुभयो । उहाँका अनुसार १ हत्या, १ कुटपिट, बालबालिका अन्तर्गत बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका ३ वटा, घरेलु हिंसा, धम्की, कुटपिटका ८ वटा घटना भएका छन् ।
त्यस्तै बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार ५ वटा, बहुविवाहको एउटा घटना भएको इन्सेक प्रतिनिधि केसीले बताउनुभयो । गतवर्ष यही अवधिमा सबै घटना बढी भएका थिए ।
उक्त समयममा धम्की तथा कुटपिट ९ वटा, बालबालिका अन्तर्गत बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका ३ वटा, घरेलु हिंसा, धम्की, कुटपिटका घटना १५ वटा, बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका घटना २ वटा, बहुविवाह र आत्महत्या दुरुत्साहनको एउटा घटना भएका थिए ।
इन्सेकले अर्धवार्षिक र वार्षिक रुपमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु सार्वजनिक गर्ने गरेको छ ।