रुकुम पश्चिमका अधिकांश भू–भागमा असार लागेसंगै विकास निर्माणका काम धमाधम भइरहेका छन् । बैशाख, जेठसम्मै त्यति धेरै विकास निर्माणको कामले गति नलिए पनि असार लागे पछि भने विकास निर्माणका काम धमाधम भइरहेका हुन् । असार मसान्तसम्म विभिन्न विकास निर्माणका आयोजनाहरु सम्पन्न गरेर बजेट निकासा गर्नुपर्ने भएकाले निर्माण व्यवसायी, उपभोक्ता लगायत स्थानीय निर्माण समितिले काम धमाधम गरिरहेका छन् ।
अहिले जिल्लामा सडक निर्माण, सिँचाई कुलो, खानेपानी, विद्यालयका भवन निर्माण लगायतका विकास निर्माणका कामहरु तिव्र रुपमा भइरहेका छन् । अनुगमन गर्ने अधिकार पाएका सम्वन्धित निकायहरुले पनि अन्य समयमा भन्दा असारमा नै अनुगमनलाई प्राथमिकता दिएको पाइन्छ ।
जब असार लाग्छ त्यतिबेला नै विकास निर्माणले गति लिने भएका कारण विकास निर्माण प्रवाभकारी नभई रहेको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का देवहादुर खड्काको भनाई छ । अन्य समयमा भन्दा असारमै विकास निर्माणले तिव्रता पाउनु भनेको काम गुणस्तरहीन हुनु र दीगो र भरपर्दो विकास नहुनु रहेको उहाँको भनाई छ ।
हिउँदको समयमा काम नगरेर असारमै धमाधम काम गर्नु भनेको बजेट सक्नकै लागि भएको मुसिकोट नगरपालिका वडा ५ का बेजु खत्रीले बताउनुभयो । वर्षातको समयमा गरेको विकास निर्माण भरपर्दो र दीगो नहुने तथा पैसा खर्च गर्नका लागि मात्र भएको उहाँ बताउनुहुन्छ ।
यता स्थानीय तह तथा बजेट कार्यान्वयन गर्ने निकाय भने विभिन्न चाहेर पनि असारे विकासलाई रोक्न नसकिएको बताउँछन् । ढिलो गरी अख्तियारी आउँदा ढिलो गरी नै कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको स्थानीय तह तथा संघ र प्रदेशको बजेट कार्यान्वयन गर्ने निकायको भनाई छ । जेठको मसान्तसम्ममा आएको अख्तियारीलाई समेत कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको उनिहरु बताउँछन् ।