रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाबाट एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । वडा नम्बर ३ की २१ वर्षिया मनिषा शाहीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलिकोप्टरबाट आइतबार उद्धार गरी सुर्खेत लगिएको हो । सुत्केरी व्यथा लागेपछि वडा नम्बर २ को स्यालाखदी स्वास्थ्य चौकीमा लगिएको थियो ।
तर लामो समयसम्म सुत्केरी हुन नसकेको र जोखिम बढ्दै गएपछि हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यसबारेमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराए पश्चात कार्यालयका तर्फबाट महिला बालबालिका तथा सामाज कल्याण मन्त्रालयमा हेलिकोप्टरका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।
जसअनुसार हेलिकोप्टर आई शाहीलाई सुर्खेत लिएर गएको उहाँले बताउनुभयो । जिल्लाबाट वर्षेनी जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत उद्धार गर्ने गरिएको छ ।