१६ देखि २३ महिना भित्रका सबै बालबालिकाले यो वर्ष पाउनुपर्ने खोपको सबै मात्रा पाएपछि रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने भएको छ । गत वर्ष जिल्लालाई पहिलो पटक पूर्ण खोप सुनिश्चित घोषणा गरिएपछि यो वर्ष पनि खोप पाउनुपर्ने सबै बालबालिकाले सबै खोपको मात्रा पाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न लागिएको हो ।
स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले हरेक वर्ष खोप लगाउनु पर्ने उमेर समुहका बालबालिकाले पाउनुपर्ने सबै खोपको मात्रा पाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुपर्ने बताउनुभयो । सोही अनुसार यो वर्ष पनि जिल्लालाई घोषणा गर्न लागिएको उहाँले बताउनुभयो ।
कोही पनि बालबालिका खोपबाट नछुटेको प्रतिवेदन स्थानीय तहहरुबाट आएको र त्यसलाई भेरिफाइ गरेर पालिका हुँदै जिल्लालाई नै घोषणा गर्न लागिएको उहाँले बताउनुभयो । घोषणा अघि सबै पालिकामा तेस्रो पक्ष सम्मिलित संयुक्त अनुगमन गरिने भएको छ ।
आज बसेको जिल्ला खोप समन्वय समितिको बैठकले संयुक्त अनुगमन गरी २२ गतेसम्म प्रतिवेदन तयार पार्ने र त्यसपछि पालिकालाई घोषणा गरी असार २९ गते जिल्लालाई घोषणा गर्ने निर्णय गरेको हो । स्वास्थ्य सेवा कार्यालयका जनस्वाथ्य अधिकृत कालिबहादुर ओलीले पूर्ण खोप घोषणा तथा सुनिश्चितताको लागि गरिएका विभिन्न क्रियाकलापहरु र उपलब्धिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
जिल्लामा यो वर्ष १६ देखि २३ महिना उमेर समुहका २२ सय ५४ जनाले खोप पाएका छन् । यि मध्ये ९३ जना छुटेकालाई खोजी गरेर खोप दिइएको खोप सुपरभाइजर अधिकृत खड्काले बताउनुभयो । बालबालिकालाई विभिन्न १३ प्रकारका रोग विरुद्धको खोप दिने गरिएको छ ।
कोही पनि बालबालिका खोपबाट नछुटुन भनेर नियमित खोप कार्यक्रम संचालन हुने गरेको छ । त्यस्तै बेला बेलामा खोप अभियान पनि संचालन गर्ने गरिएको छ । तर चेतनाको अभाव लगायतका कारणले बालबालिकाहरु खोपबाट छुट्ने गरेका छन् । कोही पनि बालबालिका छुट्नु नपर्ने र जिल्लामा जन्मिने सबै बालबालिकाले दिगो रुपमा खोप पाउने सुनिश्चित भएको भन्दै गत वर्ष पालिका हुँदै जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थिया ।
सोही अनुसार हरेक वर्ष सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाए की, पाएनन् भनेर खोजी गर्ने र छुटेको भए खोप दिएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यसको मतलब कोही पनि बालबालिका खोपबाट बञ्चित छैनन् भन्नु रहेको कार्यालयको भनाई छ ।