Kakhara सबैको खबर सम्पूर्ण खबर
अव चौरजहारीबाटै सवारी चालक अनुमति पत्र  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रुकुम पश्चिमको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीलाई सवारी चालक अनुमति पत्र वितरणका लागि अनुमति दिएको छ । मन्त्रालयको आजको बैठकले चौरजहारीबाटै सवारी चालक अनुमति पत्र वितरणको अनुमति दिएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईंले जानकारी दिनुभयो । 

अव जिल्लाबाटै सवारी चालक अनुमति पत्र वितरणका लागि बाटो खुलेको उहाँले बताउनुभयो । अझै धेरै प्रक्रिया बाँकी रहेको जानकारी गराउँदै उहाँले मन्त्रालयले अनुमति दिएपछि लाइसेन्स वितरणको ढोका खुलेको बताउनुभयो । अव यातायात व्यवस्था विभागबाट कोड र अनलाइन एप्लिकेशन पाएपछि चौरजहारीबाटै लाइसेन्स वितरण सुरु हुने कार्यालय प्रमुख चपाईंले बताउनुभयो ।

साथै विभागले जिल्लाका लागि कोटा समेत तोक्न बाँकी छ । ‘सबैभन्दा ठूलो कुरा मन्त्रालयले अनुमति दिने कुरा थियो, त्यो भइसकेको छ, अव जिल्लाबाट कोटा, कोड तथा अनलाइन एप्लिकेशनको माग र्छौं, उहाँले भन्नुभयो–यि तीन वटा काम पुरा भएपछि जिल्लाबाटै सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया सुरु हुन्छ ।’ कोटा निर्धारणका लागि मन्त्रालयले विभागलाई सिफारिस गर्ने उहाँको भनाई छ । 

साउनबाटै लाइसेन्स वितरणको काम सुरु गर्ने गरी तयारीमा लागिरहेको चपाईंले बताउनुभयो । ‘हामी जतिसक्दो छिटो नै लाइसेन्स वितरण सुरु गर्ने गरी तयारीमा छौं, साउनबाटै वितरण गर्न सकिन्छ कि भनेर लागेका छौं, हेरौं विभागबाट प्रक्रिया टुंगिन कति समय लाग्छ उहाँले भन्नुभयो ।’ 

अहिले तत्काललाई चौरजहारीमा रहेको निजी ट्रायल सेन्टरलाई प्रयोग गर्ने गरी कार्यालयले तयारी गरेको छ । प्राविधिक रुपमा पनि नयाँ सेन्टर नबनुन्जेलसम्मका लागि निजी सेन्टरबाटै काम गर्न उपयुक्त देखिएको प्रमुख चपाईंले बताउनुभयो । साथै उहाँले ट्रायल सेन्टर निर्माण र कार्यालय भवन निर्माणका लागि बजेट व्यवस्था भइसकेको जानकारी गराउनुभयो । 

यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीले उद्घाटन भएको साढे ३ वर्षपछि गत फागुन २१ गतेबाट सेवा सुरु गरेको थियो । २०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो । कर्मचारी अभाव लगायतको कारण देखाउदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गत फागुन २१ गते सेवाको उद्घाटन गरेसंगै कार्यालयले सवारी दर्ता, नामसारी, कर असुल, ब्लु बुक नविकरण लगायतका सेवा दिइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update