Kakhara सबैको खबर सम्पूर्ण खबर
नश्ल सुधारका लागि मुसिकोट र त्रिवेणीका किसानलाई ९ वटा बोका वितरण 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका किसानलाई बोका वितरण गरिएको छ । बाख्राको नश्ल सुधारका लागि ९ जना किसानलाई १/१ वटाका दरले ९ वटा बोयर बोका वितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत किसानलाई ४ लाख ५० हजार मुल्य बराबरका बोका वितरण गरिएको परियोजनाको बाख्रा ब्लक समितिका अध्यक्ष पलबहादुर खड्काले बताउनुभयो । 

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बाख्रा ब्लक भित्रका व्यवसायिक किसानलाई छनोट गरी बोका वितरण गरिएको अध्यक्ष खड्काले बताउनुभयो । यस कार्यक्रमबाट बाख्राको नश्ल सुधार भई उत्पादन बढ्ने र किसानको आयस्रोतमा सुधार हुने विश्वास गरिएको उहाँको भनाई छ । उन्नत जातका बोका पाएपछि किसानहरु हर्षित भएका छन् ।

354899883_961717751774218_5483362105340105488_n1688445286.jpg

स्थानीय जातका बाख्रा र बोकाका कारण राम्रो आम्दानी गर्न नसकिरहेको अवस्थामा बोयर जातका बोका पाएपछि उत्पादनमा बृद्धि हुने भन्दै किसानहरु हर्षित भएका हुन् । सोमबार मुसिकोट नगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बोका वितरण गरिएको हाे । 

अध्यक्ष पलबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख बिमलकुमार पुन, पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्मा, नगर पशु शाखा प्रमुख सरस्वती सापकोटा, बाख्रा ब्लक समितिका सदस्यहरु यज्ञ ओली र शैलेन्द्र ओली लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update