रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० ले व्यवसायिक रुपमा कृषि खेती गर्ने र पशु पालन गर्ने किसानलाई नगद सहित सम्मान गरेको छ । वडाले मंगलबार एक कार्यक्रमको आयोजना गरी वडामा व्यवसायिक रुपमा कृषि खेती र व्यवसायिक रुपमा पशुुपालन गर्ने १० जना किसानलाई नगद सहित सम्मान गरेको हो । सबै भन्दा धेरै कृषि उपज उत्पादन गर्ने र पशुपालन गर्ने किसानहरुको सर्वेक्षण गरी १० जना किसानलाई नगद ३ हजार सहित कदर पत्रले सम्मान गरेको वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृषि पेशामा आवद्ध भई वडाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका १० जना किसानलाई सम्मान गरिएको उहाँले बताउनुभयो । वडामा सबै भन्दा धेरै कृषि खेती गर्ने किसान र धेरै पशुपालन गर्ने किसानलाई सम्मान गरिएको छ । सम्मान हुनेमा धेरै लसुन खेती उत्पादन गर्ने झुपलाल खड्का, बाख्रापालन गर्ने सुनिल कँवर, भैँसी पालन गर्ने जयबहादुर खड्का, सुन्तला खेती गर्ने एक्कबहादुर खड्का र अलैँची खती गर्ने पैलबहादुर खड्का रहनुभएको छ ।
त्यस्तै दलित समुदायबाट राम्रो कृषि खेती गर्ने यमुना करला, वडाका नमुना कृषक घमण्डबहादुर खड्का, नमुना युवा कृषक उज्वल केसी, मनिराम कँवर र बहादुर बुढालाई पनि सम्मान गरिएकोे छ । यो सम्मानले किसानको हौसला थप बढ्नुका साथै वडामा व्यवसायिक कृषि गर्ने किसानको संख्या बढ्ने अपेक्षा वडाले गरेको छ । आगामि आर्थिक वर्षमा पनि वडामा १० जना किसानलाई सम्मान गर्ने योजना वडाले बनाएको वडाध्यक्ष खड्काले बताउनुभयो ।