रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । यो वर्ष १५ महिना देखी २३ महिनासम्मका बालबालिकाले पाउनु पर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि पालिकालाई आज एक कार्यक्रमका विच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
गाउँपालिकामा रहेका १५ महिना देखि २३ महिनासम्मका २ सय ३४ बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप प्राप्त गरेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको त्रिवेणी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार खोप पाउनुपर्ने १५ महिना देखि २३ महिना भित्रका १ सय ३९ बालिका र ९५ जना बालकले सबै खोप पाएका छन् ।
घोषणा पूर्व स्वास्थ्य शाखाले पालिकाका १० वटै वडामा खोप पाउनुपर्ने सबै बालबालिकाले खोप पाए, नपाएको बारेमा सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणमा २ जना बालबालिकाले खोप नपाएको र ३ जनाले खोप कार्ड नपाएको भेटिएको थियो । खोप पाउन बाँकीलाई खोप र खोप कार्ड पाउन बाँकीलाई कार्ड दिइएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
पूर्ण खोप सुनिश्चितता तथा तथा दिगोपनालाई कायम राख्नका लागि राजनीतिक दल, स्थानीय तह, स्वास्थ्यकर्मी, उद्योगी, व्यापारी, नागरिक समाज, शिक्षक, विद्यार्थी लगायतले हस्ताक्षर गरेर प्रतिवद्धता समेत जनाएका छन् ।
गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको अध्यक्षतामा भएको घोेषणा कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती, वडा अध्यक्षहरु, महिला स्वास्थ्य स्वयंसेविका लगायतको पनि आतिथ्यता रहेको थियो ।