बुधबार झरीकै विचमा सडकमा पिच हालिरहेको चौरजहारीको तस्बिर यतिबेला सामाजिक सञ्चालमा चर्चामा छ । असारे झरीकै विचमा सडकमा कालोपत्रे हालिरहेको तस्बिर शेयर गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो कस्तो खालको विकास हो ? भन्दै प्रश्न गरिरहेका छन् । चौरजहारी नगरपालिका वडा नम्बर २ शितल मावि जाने गेट अगाडीको सडकमा कालोपत्रे गर्दै गर्दा ठूलो झरी दर्किरहेको थियो । झरीकै विचमा कालोपत्रेको काम भइरहको देखेपछि स्थानीयले विरोध समेत जनाएका थिए । नयाँ शहर आयोजना अन्तर्गत चौरजहारी बजार क्षेत्रको मुख्य सडकमा कालोपत्रेको काम भइरहेको छ । कामको जिम्मा क्याराभान कन्ट्रक्सनले लिएको छ ।
यस विषयमा चासो राख्दा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले झरीकै विचमा हालिएको कालोपत्रे उतारेर पुनः नयाँ हाल्न निर्देशन दिएको बताउनुभयो । बिहिबार (आज) बिहान नयाँ शहरका प्रमुख र ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाएर झरीमा हालिएको कालोपत्रे हटाएर पुनः कालोपत्रे गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । नयाँ शहर र ठेकेदारले पनि उक्त कालोपत्रे हटाउने सहमति जनाएको नगर प्रमुख वादीले बताउनुभयो । कालोपत्रे गर्दा गर्दै पानी परेको ठेकेदार कम्पनीले जनाएको छ । करिब ६० देखि ७० मिटर सडक झरीकै विचमा कालाेपत्रे भएकाे छ ।