माध्यमिक शिक्षा परीक्षा (एसइई)मा रुकुम पश्चिमका ८ जना विद्यार्थीले ३.६० भन्दा माथिको जीपीए ल्याएका छन् । आज प्रकाशित नतिजा अनुसार साधारण तर्फ जिल्लाका ८ जना विद्यार्थीले ३.६० देखि माथि र ४ भन्दा कम जीपीए प्राप्त गरेका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । त्यस्तै प्राविधिक धार तर्फ २ जनाले ३.६० देखि ४ भन्दा कम जीपीए प्राप्त गरेको कार्यालयले जनाएको छ । ४ जीपीए भने कसैले पनि ल्याएका छैनन् ।
जिल्लामा साधारण तर्फ सबैभन्दा बढी २.०० देखि २.४० जीपीए ल्याउने १५ सय ४४ जना रहेका छन् । त्यस्तै ३.२० देखि ३.६० विचको जीपीए १ सय १० जनाले, २.८० देखि ३.२० जीपीए ल्याउने ४ सय जना, २.४० देखि २.८० जीपीए ल्याउने ११ सय ४५ जना, १.६ देखि २.०० जीपीए ल्याउने ६ सय ७८ जना, १.२ जीपीए देखि १.६० जीपीए ल्याउने १ सय २ जना र ०.८ देखि १.२० जीपीए ल्याउने ४ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक डायमण्ड पुनले जानकारी दिनुभयो । नियमित तर्फ ४ हजार ९५ जनाले परीक्षा फारम भरेकामा १ सय ४ जना परीक्षार्थी अनुपस्थित भएको उहाँले बताउनुभयो ।
प्राविधिक धार तर्फ ८१ जना परीक्षार्थी सहभागी भएकामा २ जनाले ३.६० देखि माथि र ४ जीपीए भन्दा कम, ३६ जनाले ३.२० देखि ३.६०, ३७ जनाले २.८० देखि ३.२० र ६ जनाले २.४० देखि २.८० जीपीए ल्याएको प्राविधिक सहायक पुनको भनाई छ ।