स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण सार्वजनिक गरेको छ । आज जिल्लास्थित पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कार्यालयले एक वर्षको अवधिमा संचालन गरेका कार्यक्रम र सेवा प्रवाहका बारेमा जानकारी गराएको हो ।
स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर शुशिल पाख्रेलले एक वर्षमा स्वास्थ्य सेवा कार्यालयले गरेका काम, त्यसको प्रगति र सेवा प्रवाहका बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा जिल्ला भरका स्वास्थ्य संस्थाको अवस्था, स्वास्थ्य संस्थाले भोग्नुपरेको समस्या, नियमित गर्भजाँच गर्न आउनेको अवस्था, स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या, शल्यक्रिया मार्फत प्रसुति हुनेको अवस्था सहित पछिल्लो पटक संचालनमा आएको हाडजोर्नीको अप्रेशन सेवाबाट भएको सजिलोको बारेमा पनि जानकारी गराइएको थियो ।
विद्युतको समस्याका कारण जिल्ला जिल्ला अस्पतालका सेवाहरु प्रभावित भइरहेको बताइएको छ । आवश्यक पावर नपुग्ने तथा अनियमित विद्युत सेवाका कारण अप्रेशन लगायतका जटिल सेवामा असर परिरहेको डाक्टर प्रोख्रेलले बताउनुभयो । त्यस्तै इन्टरनेट, आवश्यक संरचना लगायतको अभावले पनि स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भइरहेको उहाँको भनाई छ ।
मुख्य गरी बर्थिङ सेन्टरहरुमा उपकरण तथा बेड लगायतका सामग्रीको अभाव रहेको उहाँले बताउनुभयो । स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर पाख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द केसी, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले गर्नुभएको थियो ।