Kakhara सबैको खबर सम्पूर्ण खबर
होलीमा सामाजिक दुरी कायम गर्न प्रशासनको आग्रह 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले फागु पूर्णिमा अर्थात होली पर्व मनाउदा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको भन्दै प्रशासनले नजिकै आइरहेको होली पर्वमा सतर्कता अपनाउन आग्रह गरेको हो । अनावश्यक भीडभाड नगरी सामाजिक दुरी सद्भावका साथ आफ्नो सामाजिक मूल्य, मान्यता र परम्परालाई निरन्तरता दिने, आपसी आत्मियता, भाइचारा कायम गर्ने गरी मनाउनुहोला प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्तै इच्छा विपरित रङ्ग लगाउने, लोला तथा फोहोर पानीले हान्ने, मादक तथा नशालु पदार्थको सेवन गर्ने/गराउने, अवान्छित, उछृङखल तथा गैरकानुनी क्रियाकलाप गरी शान्ति सुरक्षा, अमनचयन तथा व्यक्तिगत स्वतन्त्रतामा असर पार्ने क्रियाकलाप नगर्न/नगराउन पनि आग्रह गरिएको छ । यसका साथै होली बाहेक अन्य बेलामा पनि अत्यावश्यक बाहेक भीडभाड हुने खालका कार्यक्रमहरु संचालन नगर्न तथा कार्यक्रम संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न, नियमित रुपमा हात धुने, सेनिटाईजर र मास्क प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न भनिएको छ । 

भारत वा अन्य मुलुकबाट आउने व्यक्ति वा लक्षण देखिएका व्यक्तिलाई तत्काल स्थानीय स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गराउन प्रमुख जिल्ला अधिकारी गैह्रेले आग्रह गर्नुभएको छ । पछिल्लो समय छिमेकी देश भारत तथा नेपालमै पनि संक्रमितको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापि रुपमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update