रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको साँख दहमा विभिन्न संरचना निर्माण गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि दह वरिपरि विभिन्न संरचना निर्माण गरिएको हो । अव दहमा स्थानीयका पशुचौपाया जान पाउने छैनन् भने ताल अवलोकनका लागि सहज भएको छ । दह प्रवेश गर्ने एउटा आरसीसी गेट निर्माण गरिएको छ ।
दह परिसरमा २ वटा प्रतिक्षालय, दह वरिपरि १५ सय ३८ स्क्वायर मिटर लामो ढुंगा विच्छ्याइएको बाटो, ४ सय २५ मिटर लामो जिआई पाइपको रेलिङ र दह वरिपरि ६० घनमिटर ढुंगाको जोडाइमा सिमेन्ट मसलाको गारो निर्माण गरिएको छ । त्यस्तै दह वरिपरिबाट आएको पानी निकासको लागि पिसीसी नाला समेत निर्माण गरिएको मुसिकोट नगरपालिका सव इन्जिनियर प्रज्वल कठायतले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल सरकार विशेष अनुदान अन्तर्गतको बजेटबाट मुसिकोट पार्क शिर्षकमा दहमा विभिन्न संरचना निर्माण भएको हो । यस योजनाको लागत स्टामेट ८१ लाख ९३ हजार ४६ हजार २ रुपैयाँ ५१ पैसा रहेकामा हरिसिद्धि कन्ट्रक्सन एण्ड सप्लायर्सले ५४ लाख २६ हजार १ सय २२ रुपैयाँ ५९ पैसामा ठेक्का लिएको थियो । सबै काम सम्पन्न भई भुक्तानी समेत भइरहेको सव इन्जिनियर कठायले बताउनुभयो ।
ताललाई व्यवस्थित बनाई सुन्दरता बढाउने उद्ेश्यले विभिन्न संरचनाहरु निर्माण भएको मुसिकोट ७ का वडाध्यक्ष एक्कबहादुर पाण्डेले बताउनुभयो । केही वर्षदेखि ताल संरक्षण अन्तर्गत विभिन्न कामहरु भइरहेकामा यो वर्ष ठूलो मात्रामा ताल परिषरमा संरचना निर्माण भएको उहाँले बताउनुभयो । तालले रुप फेरेको उहाँले बताउनुभयो ।
अव ताल अवलोकनका लागि चारैतिर पैदल मार्ग भएर सहजै हिड्न सकिने र थकाई लागेमा प्रतिक्षालयमा आराम गर्न सकिने वडाध्यक्ष पाण्डेको भनाई छ । ताल बर्खामा भरिन्छ भने हिउँदयाममा पानी कम हुनेगर्छ । अव भने ताललाई बाह्रै महिना भरिभराउ बनाउनका लागि बाहिरबाट पानी ल्याएर हाल्ने योजना समेत वडाले बनाएको छ । मध्यपहाडी लोकमार्गको छेवैमा रहेको यो ताल मुसिकोट नगरपालिकाको आकर्षक गन्तव्यका रुपमा रहेको छ ।