Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकारिता बलियो भयो भने मात्र नागरिकले प्रजातन्त्रको लाभ उठाउन सक्छनः अध्यक्ष पोख्रेल 

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता बिना समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले सदरमुकाम मुसिकोट खलंगामा आयोजना गरेको स्थानीय सरकार र मिडियाका सवाल विषयक अनुशिक्षण कार्यक्रममा बोल्दै उहाँले समुन्नत समाजका लागि पत्रकारिता आवश्यक रहेको बताउनुभयो । 

समाजलाई समुन्नत बनाउन र नागरिकलाई सशक्त बनाउनका लागि स्थानीय सरकार र मिडियाले साझेदारी गरेर काम गर्नुपर्नेमा उहाँको जोड छ । ‘पत्रकारिताले पनि समाजकै हितका लागि काम गर्ने हो, सरकारहरु पनि सोही अभियानमा छन्, तर मिडिया र सरकारका विचमा हुनुपर्ने जति साझेदारी हुन सकेको छैन्, उहाँले भन्नुभयो–सहकार्य बढाउन जरुरी छ ।’ 

त्यस्तै अध्यक्ष पोख्रेलले पत्रकारिता बलियो हुनुपर्ने बताउनुभएको छ । पत्रकारिता बलियो भयो भने मात्र नागरिकहरुले प्रजातन्त्रको लाभ उठाउन सक्ने उहाँको भनाई छ । ‘जति जति पत्रकारिता बलियो हुन्छ, नागरिकहरु पनि त्यतिकै सचेत हुन्छन र प्रजातन्त्रको लाभ उठाउन पाउँछन्, उहाँले भन्नुभयो–त्यसकारण पत्रकारिता बलियो हुनै पर्छ ।’ 

पत्रकारिता बलियो हुनका लागि पत्रकारहरु सक्षम हुनुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि नेपाल पत्रकार महासंघ लागिरहेको उहाँले जानकारी गराउनुभयो । पत्रकारको पेसागत सुरक्षा देखि क्षमता विकास र नीतिगत व्यवस्थाका लागि महासंघ लागि परेको उहाँले बताउनुभयो । उहाँका अनुसार महासंघले अहिले मुख्य गरी तीन विषयहरु संवाद, दबाव र अदालतलाई प्राथमिकता दिएको छ ।

कुनै पनि समस्या देखिएमा पहिलो चरणमा संवाद गर्ने, दोस्रो चरणमा दबाव दिने र त्यसले पनि नपुगेमा अदालतसम्मै गएर पत्रकारको हकहितको सुरक्षा गर्नका लागि महासंघ संक्रियतापूर्वक लागेको उहाँले स्पस्ट पार्नुभयो । 
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update