नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले स्थानीय सरकार र मिडियाका सवाल विषयक अनुशिक्षण कार्यक्रम संचालन गरेको छ । मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा आज बिहान कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय सरकार र मिडियाका विचमा साझेदारी कसरी बढाउने, स्थानीय तहको विकासमा मिडियाको भूमिका, मिडियाको विकासका लागि स्थानीय तहले के गर्न सक्छन भन्ने लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा संचार र स्थानीय सरकार विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र न्यु मिडिया, प्रयोग र प्रभावका विषयमा महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले प्रस्तुतिकरण गर्नुभएको थियो । महासंघका अध्यक्ष पोख्रेलले स्थानीय सरकार र मिडियाले साझेदारी मार्फत जनताको जीवनस्तर बदल्ने गरी काम गर्न सक्ने बताउनुभयो । साथै मिडियाले स्थानीय सरकार र नागरिक विचको सेतुका रुपमा काम गरिरहेको बताउनुभयो ।
उपाध्यक्ष जिएमले न्यु मिडियाले पत्रकार तथा सञ्चारमाध्यामहरुलाई चुनौतिका साथ साथै अवसर समेत सृजना गरिरहेको बताउनुभयो । न्यु मिडियाका कारण मुलधारका सञ्चार माध्यमहरुलाई थप व्यवसायिक बन्नका लागि समेत सहयोग पुगेको उहाँले बताउनुभयो । स्थानीय सरकार र मिडियाका सवालहरु के के हुन सक्छन, मिडिया र स्थानीय सरकारका विचमा साझेदारीलाई कसरी बढाउन सकिन्छ भनेर छलफलका लागि कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले मुसिकोट नगरपालिका मिडियाको विकासका लागि तत्पर रहेको बताउनुभयो । मिडियासंग साझेदारी गर्ने विषयमा कुनै कञ्जुस्याई नगरेको र अवका दिनमा पनि आवश्कता अनुसार सहकार्य गर्दै जाने विश्वास समेत उहाँले दिलाउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, सुरक्षा निकायका प्रमुख, वडाध्यक्षहरु, अधिवक्ता, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
शाखाका कोषाध्यक्ष ज्ञानु गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव हिरा परियारले गर्नुभएको थियो ।