रुकुम पश्चिममा उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय मार्फत संचालित योजनाको काम सम्पन्न भइसक्दा पनि रकम भुक्तानी नभएपछि उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुले आज जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
साथै उनिहरुले बजेट माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लाका विभिन्न स्थानमा १ सय १० वटा योजना सम्पन्न भइसकेको तर उक्त योजनाहरुको बजेट आज अन्तिम दिनसम्म पनि भुक्तानी नभएको ज्ञापन पत्रमा उल्लेख छ ।
प्राविधिक मुल्यांकन अनुसार कुल १९ करोड २ लाख ३७ हजार ५ सय १५ रुपैयाँ निकासा हुन बाँकी रहेको पिडित उपभोक्ताहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । काम सम्पन्न भइसक्दा पनि भुक्तानी नहुँदा आफुहरु गाउँ जाने अवस्था नरहेको र भुक्तानी भइसक्नुपर्ने आज अन्तिम दिन भएकोले बाध्य भएर ज्ञापन पत्र बुझाउनु परेको पिडितहरुको भनाई छ ।
संघीय सरकारको सशर्त अनुदानमा ३१ करोडको सीमाभित्र रही चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने र सो रकम खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षकै विनियोजित बजेटबाट व्यवस्थापन गर्ने, त्यसरी सम्भव नभएमा कार्यसम्पन्न भएपछि निकासा माग गर्ने श्रोत सहमतिमा मन्त्रीस्तरीय निर्णय भए अनुसार काम सम्पन्न भएको विज्ञप्तीमा भनिएको छ ।
खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख तेजनाराण महतोले मन्त्रालयबाट पैसा पठाउने निश्चित भएको बताउनुभयो । तर अहिलेसम्म बजेटको अख्तियारी आइनसकेको उहाँको भनाई छ । ‘बजेट आउने भनेर निश्चित भइसकेको तर अहिलेसम्म अख्तियारी आइसकेको छैन्, कतिबेला बजेट आउँछ भनेर कुरेर बसिरहेका छौं, उहाँले भन्नुभयो–बजटे आयो भने रातको १२ बजेसम्म भुक्तानी गरिसक्छौं ।’
१ सय ५ जना उपभोक्ताको हस्ताक्षर सहित प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई ज्ञापन पत्र बुझाइएको हो । उक्त ज्ञापन पत्र तत्कालै प्रधानमन्त्री कार्यालयमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।