खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिम मार्फत चालु आर्थिक वर्षमा संचालित योजना अन्तर्गतको साढे ४ करोड बजेट भुक्तानी हुन पाएको छैन् । चालु वर्षको रकम भुक्तानी हुने अन्तिम समय गयराती १२ बजेसम्म प्रयास गर्दापनि साढे ४ करोड बजेट भुक्तानी हुन नसकेको कार्यालयले जनाएको छ । १९ करोड बजेटको अख्तियारी राती १० बजे आएको थियो ।
१० बजे १९ करोड बजेट आएकामा २ घण्टामा साढे १७ करोड बजेट भुक्तानी गर्नुपर्ने अवस्था रहेकामा साढे ४ करोड बजेट भुक्तानी हुन नसकेको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतोले बताउनुभयो । ‘हामीलाई एकदम अन्तिम समयमा मात्र ठूलो बजेटको अख्तियारी आयो, तैपनि हामीले एकदम प्रयास गर्यौं, त्यसका बावजुत पनि साढे ४ करोड जति बजेट भुक्तानी गर्न सकेनौं ।’
११ बजेसम्म सर्भर पनि राम्रै चलेको, भुक्तानी पनि फटाफट भएको र झण्डै ११ करोड बजेट भुक्तानी गरिसकेको तर त्यसपछि साढे २ करोडको योजनाको भुक्तानी आदेशका लागि कालेनिकामा पठाउँदा अस्विकृत भएपछि त्यसको समस्या पत्ता लगाउँदा लगाउँदै तयारी अवस्थामा रहेका अन्य फाइल रोकिन पुगेको उहाँको भनाई छ ।
अन्तिममा सर्भर पनि स्लो भएको र १२ बज्नुभन्दा ५ मिनेट अघि नै सर्भर डाउन भएपछि साढे ४ करोड जति बजेट भुक्तानी हुन नपाएको उहाँले बताउनुभयो । अन्तिम समयमा बजेट आउनु नै समस्या भएको महतोले बताउनुभयो ।
उहाँका अनुसार भुक्तानी हुन बाँकी उपभोक्ता मार्फत सम्पन्न भएका करिब ४ वटा योजना रहेका छन् भने ठेकेदार मार्फत भएका केही कामको भुक्तानी हुन बाँकी छ । ठेकेदार मार्फत भएका सामग्री खरिद र ढुवानीको बजेट भुक्तानी हुन बाँकी रहेको बताइएको छ ।
काम सम्पन्न भइसकेपनि भुक्तानी हुन रोकिएका योजनाको भुक्तानी अव के हुन्छ भन्ने प्रश्नमा कार्यालय प्रमुख महतोले यही हुन्छ भन्न सकिने अवस्था नरहेको जवाफ दिनुभयो । गयराती १२ बजेदेखि भुक्तानी सिष्टम बन्द भइसकेको अवस्थामा अव के हुन्छ भनेर कार्यालयले भन्न नसक्ने र मन्त्रालयबाट विशेष व्यवस्था नभएमा बाँकी भुक्तानी अर्कोवर्षका लागि दायित्व सर्ने उहाँको भनाई छ ।