Kakhara सबैको खबर सम्पूर्ण खबर
अब झोल युरिया रुकुममै 

देशमा वर्षेनी युरिया मलको अभाव हुने गरेको छ । समयमै मल ढुवानी नहुँदा किसानले सिजनमा युरिया लगायतको मल पाउन सकिरहेका छैनन् । युरियाको अभावलाई कम गर्ने उदे्श्यले झोल युरियाको उत्पादन सुरु भएको छ । भारतमा झोल युरिया उत्पादन भइरहेको छ । उक्त युरिया नेपालमा बिक्रि सुरु भइसकेको छ । 

रुकुम पश्चिममा पनि अव झोल युरिया पाइने भएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगाको तल्लो बजारमा झोल युरिया बिक्रि गर्ने गरी स्मार्ट एग्रो हब संचालनमा आएको छ । व्यक्तिगत रुपमा मुसिकोट १३ की सीताकुमारी रोकाले हब संचालनमा ल्याउनुभएको हो । आज बिहान रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्काले पसलको सटर खोलेर उद्घाटन गर्नुभयो । 

359215216_227021956875452_2926811832773380782_n1688980339.jpg

सटर खाेलेर उद्घाटन गर्दै रूकुम उद्याेग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का ।

कृषिको आधुनिकिकरण र यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने अभियानमा सहयोग पुर्याउने उद्देश्यले स्मार्ट एग्रो हब संचालनमा ल्याएको संचालक रोकाले बताउनुभयो । दाना युरियाको तुलनामा झोल युरिया सस्तो पर्ने उहाँको भनाई छ । आधा लिटरको एक बोतल युरियालाई ४ सय २५ रुपैयाँ पर्ने र एक बोतल झोल युरिया एक बोरा दाना युरिया बराबर हुने संचालक रोकाले बताउनुभयो । 

झोल युरिया पानीमा मिसाएर स्प्रे मेसिनको मद्तमा बालीको पातमा राख्नु पर्छ । यसको प्रभाव दाना युरियाको तुलनामा बढी हुने बताइएको छ । दाना युरिया सिधा माटोमा हालिने भएका कारण त्यसले माटोमा पनि असर गर्ने तर झोल युरिया पातमा हाल्ने भएका कारण माटोमा असर नपर्ने तथा दाना युरिया ७० प्रतिशत खेर जाने गरेकोमा झोल युरिया भने १५ प्रतिशत मात्र खेर जाने बताइएको छ । भारतमा उत्पादन भएको झोल युरिया नेपालमा चौधरी ग्रुप (सिजी)ले बिक्रि गरिरहेको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द केसी, कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसी, पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्मा, माओवादी केन्द्रका नेता धनबिर ओली, खलंगा बजारका व्यापारी, पत्रकार लगायतको पनि उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रमको संचालन सचिन रोकाले गर्नुभएको थियो ।

358468425_227021893542125_1778118995641853091_n1688980356.jpg

उद्घाटन कार्यक्रममा बाेल्दै रूकुम उद्याेग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update